एजेन्सी— भारतीय धनाढ्य मुकेश अम्बानीले आफ्ना भाइ अनिल अम्बानीलाई जेल जानबाट बचाएका छन् । रिलायन्स कम्युनिकेसनका चेयरमेन अनिल अम्बानीले एरिक्सनलाई तोकिएको समयमा ७.७ करोड अमेरिकी डलर नतिरेको भए उनी जेल जानु पर्ने हुन्थ्यो ।
योभन्दा पहिले एक पटक अदालतको आदेशअनुसार अनिलले समयमा भुक्तानी गर्न सकेका थिएनन् । फेरि यसपटक पनि अदालतको आदेशअनुसार उनले भुक्तानी नगरेको भए उनी जेल जानु पर्ने हुन्थ्यो । यसपटक चाहिँ उनलाई दाइ मुकेश अम्बानीले बचाइदिए ।
आफ्नो ऋण चुक्ता गर्न दाइले गरेको सहयोग र भाउजू नीता अम्बानीप्रति अनिलले धन्यवाद दिँदै एउटा विज्ञप्ति जारी गरेका छन् । उनले विज्ञप्तिमा लेखेका छन्, ‘यो संघर्षको घडीमा मलाई सहयोग गरेकोमा म मेरो परिवारलाई धन्यवाद दिन चाहन्छु । यसले हाम्रो परिवार कति बलियो छ भन्ने प्रष्ट पारेको छ । जुन बेला मलाई सहयोगको सख्त जरुरत परेको थियो, त्यति बेला मेरो परिवार मेरो साथमा खडा भएको छ ।’
तर, कुनै समय थियो यी दुई दाजुभाइ एकअर्काका कडा दुश्मनका रुपमा चिनिन्थे । यो विषयमा पनि अनिलले लेखेका छन्, ‘हामी अब पुरानो दुश्मनीबाट बाहिर निस्किएका छौँ, यो सहयोगका लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।’
गत महिना अदालतले भनेअनुसार अनिलले एरिक्सनको ऋण चुक्ता गर्न नसकेपछि उनीमाथि अवमूल्यनको आरोप लागेको थियो । यसअघि अनिलले सन् २०१८ सम्ममा सबै ऋण चुक्ता गर्ने वाचा गरेका थिए ।
दाइ मुकेशले सहयोग गरेपछि स्वीडेनको टेलिकम कम्पनी एरिक्सनलाई अब अनिलबाट पैसा मिलेको छ । अनिललाई दिइएको चार साताको समयसिमा बुधबार सकिँदै थियो ।
यो त एउटा प्रसङ्ग भयो, तर अनिल टाट पल्टिएको कुरा भारतीय इतिहासमा नै अचम्मको मानिन्छ । रिलायन्स कम्युनिकेसन खोलेका अनिलले त्यसलाई एशियाकै सबैभन्दा राम्रोमध्येको एक कम्पनी बनाएका थिए । सन् २००८ मा मात्र अनिल रिलायन्स कम्पनीकै कारण विश्वका सबैभन्दा धनी व्यक्तिको सुचीमा आठौं नम्बरमा थिए ।
तर, भारतीय बजारमा जब मुकेशको जियो आयो, अनिलले त्यसको सामना गर्न सकेनन् । अनि रिलायन्स विस्तारै कमजोर हुँदै गयो ।
अहिले त अनिल अम्बानी जीवनको सबैभन्दा खराब समयमा छन् । त्यसमाथि उनलाई भारतको विपक्षी दल भारतीय कंग्रेसले पनि खेदिरहेको छ । यसको कारण चाहिँ फ्रान्ससँग भएको विमानसम्बन्धी सम्झौतामा प्रधानमन्त्री नरेन्द्र मोदीले अनिललाई फाइदा पुर्याएका छन् भन्ने आरोप हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।