गरिबी निवारणका लागि एकीकृत कार्यक्रम आवश्यक :  मन्त्री अर्याल

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गरिबीको अन्त्य गर्नका निम्ति गरिबी निवारणसम्बन्धी सम्पूर्ण कार्यक्रम एकीकृत रूपमा सञ्चालन गर्नुपर्ने बताएकी छिन् ।
 
नेपाल युएस अलुम्‍नाई नेटवर्क (नुसाल)ले अमेरिकी राजदूतावासको सहयोगमा आयोजना गरेको महिला उद्यमशीलता विषयमा आयोजना गरेको कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । नेपाल युएस अलुम्‍नाई नेटवर्क (नुसाल)अमेरिका अध्ययन भ्रमणबाट फर्किएका नेपालीहरूले स्थापना गरेको संस्था हो । 

सरकार अहिले गरिब पहिचान गर्ने कार्यमा लागिरहेको भन्दै मन्त्री अर्यालले गरिब पहिचान भइसकेपछि उनीहरूलाई कसरी धनी बनाउने भनेर निश्चित कार्यक्रम सञ्चालन गरिने बताइन् ।  ‘गरिबी निवारणका सबै कार्यक्रमबीच समन्वयको आवश्यकता छ। एकीकृत, प्रभावकारी र परिणाममुखी बनाउन सबै कार्यक्रमका बीचमा समन्वय आवश्यक छ । त्यसका लागि हामी लागिरहेका छौँ,’ मन्त्री अर्यालले भनिन् । 

गरिब पहिचान गरिसकेपछि सरकारले गरिबी निवारण कसरी गर्ने भनेर सातवटै प्रदेशमा कार्यक्रम बनाउने मन्त्री अर्यालले बताइन् । गरिबीको अन्त्य गर्नका निम्ति उद्यमशिलता प्रमुख आधार भएको भन्दै उनले सहकारीमार्फत सबैलाई उत्पादनसँग जोडेर बेरोजगारलाई काम दिने कार्यमा लाग्नुपर्ने बताइन् । त्यसका लागि बजारको माग के छ भनेर त्यसको सम्भाव्यता अध्ययन गरेर मात्रै उत्पादनमा लागेमा सफल हुनेमा उनको विश्वास छ । 

महिला उद्यमीहरूले उत्पादन गरेको उत्पादनहरूको स्थलगत अवलोकनपछि मन्त्री अर्यालले उद्यमशीलतामा महिलाहरूलाई बढीभन्दा बढी संलग्न गराउन आग्रह गरिन् । मुलुक ‘सुखी नेपाली समृद्ध नेपाल’को मूल लक्ष्य लिएर अगाडि बढेको भन्दै मन्त्री अर्यालले सरकार र निजी क्षेत्र एकीकृत भएर काम गर्नुपर्ने बताइन् । 





  • प्रकाशित मिति : चैत ५, २०७५ मंगलबार १८:२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया