‘आउनुस्, नेपालमा लगानीमैत्री वातावरण बनेको छ’

बेइजिङ– कृषि तथा पशुपति मन्त्री चक्रपाणि खनाल चीनको इविनमा भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलन प्रमुख अतिथिको रुपमा सहभागी भएका छन् । ४० देशका झन्डै एक हजार प्रतिनिधि सहभागी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालमा लगानीका सम्भावना र नेपाल सरकारले लगानी प्रवर्द्धनका लागि लिएका नीतिहरुबारे प्रकाश पारे । 

मुलुकमा दुईतिहाइको स्थिर सरकार बनेसँगै नीतिगत र कानुनी जटिलताहरुमा सुधार भएको भन्दै मन्त्री खनालले आन्तरिक र बाह्य लगानी प्रवर्द्धनका लागि लगानीमैत्री वातावरण तयार गर्न निरन्तर प्रयास गरिरहेका बताए ।

राजनीतिक स्थितरतासँगै नेपालमा बन्द हड्ताल छाडेको, तुलनात्मक रुपमा नेपालमा श्रमको मूल्य सस्तो रहेको, हालै नेपाल सरकारले लगानीकर्ताका लागि एकद्वार प्रणालीमा सेवा दिने नीति घोषणा गरी प्रशासनिक झमेलालाई धेरै हदसम्म कम गरेको भन्दै मन्त्री खनालले पहिलेभन्दा नेपाल लगानीका लागि सहज र सुरक्षित भएको उल्लेख गरे ।

नेपालबाट चीन र भारतजस्ता विशाल बजारसम्म पहुँच स्थापित गर्ने दुरी सहज र छोटो हुने भन्दै उनले विभिन्न देशका लगानीकर्तालाई आकर्षित गर्ने प्रयास गरे । 

नेपालमा कृषि क्षेत्रमा लगानीका सम्भावनाहरुबारे प्रकाश पार्दै मन्त्री खनालले नेपाल भौगोलिक हिसाबले सानो देश भए पनि नेपालका केही कृषि उपजहरु विश्व बजारमा प्रसिद्ध रहेको बताए ।

नेपाली चिया, कफी, अलैँची, अदुवा, मह, जडीबुटी लगायत विशिष्ठ गुणका उपजहरुको उत्पादन राम्रो हुने भए पनि यी सामग्रीको प्रशोधनका आधुनिक प्रविधि र पूर्वाधार नभएको उल्लेख गर्दै उनले अत्याधुनिक प्रविधिको प्रयोग गरी प्रशोधन र बजारीकरण गर्न थप लगानीको आवश्यकता औँल्याए । 



नेपालले लोडसेडिङ अन्त्य गरी अविछिन्न ऊर्जा उपलब्धताको सुनिश्चितता गरिसकेको उल्लेख गर्दै उनले जलश्रोतको धनी राष्ट्र नेपाल अहिले ऊर्जा उत्पादन गरी निर्यात गर्ने तयारीमा रहेकाले ऊर्जा क्षेत्रमा पनि लगानीका पर्याप्त सम्भावनाहरु रहेको बताए । 

नेपालमा २९ र ३० मार्चमा हुन लागेको लगानी सम्मेलनमा धेरैभन्दा धेरै लगानीकर्ताको सहभागिता र समन्वयको खाँचो महसुस गरेको मन्त्री खनालले बताए । 
 



  • प्रकाशित मिति : चैत ५, २०७५ मंगलबार २०:९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया