सिरियाबाट ज्यान जोगाउन भागेका बाबुछोरा न्यूजिल्यान्डमा मारिए

एजेन्सी – सिरियाको गृहयुद्धका कारण भागेर ‘विश्वकै सर्वाधिक सुरक्षित’ ठानिएको मुलुक न्यूजिल्यान्ड पुगेका मुस्लिम बाबुछोरा क्राइस्टचर्च मस्जिद गोलीकाण्डमा मारिएको पुष्टी भएको छ । उनीहरुको बुधबार सम्पन्न दाहसंस्कारमा सयौं न्यूजिल्यान्डबासी उपस्थित भएर भावपूर्ण विदाई गरेका थिए । 

न्यूजिल्यान्डको क्राइस्टचर्चका दुईवटा मस्जिद आक्रमणमा मारिएका व्यक्तिहरुमध्ये हालसम्म यी दुई बाबुछोराको मात्र दाहसंस्कार भएको छ । उक्त घटना भएको पाँच दिन पुगिसकेको छ र अन्य व्यक्तिको दाहसंस्कारमा विभिन्न कारणले ढिलाइ भइरहेको छ । 

सिरियाबाट न्युजिल्यान्ड गएका उनीहरुमध्ये बाबु ४४ वर्षीय खालिद मुस्तफा र उनका १५ वर्षीय छोरा हम्जा मुस्तफा रहेका छन् । 

क्राइस्टचर्चको मस्जिदमा शुक्रबार प्रार्थनाका लागि जम्मा भएका व्यक्तिमध्ये ५० जनाको गोली लागी मृत्यु भएको थियो । गोरा अतिवादीले उक्त आक्रमणको भिडियो खिचेर सामाजिक सञ्जाल फेसबुकमा समेत प्रत्यक्ष प्रशारण गरेका थिए । 

यी बाबुछोराको दाहसंस्कारमा हम्जाका भाइ १३ वर्षीय जाइद पनि उपस्थित थिए । मस्जिदमा सँगै रहेका जाइदलाई भने पाखुरा र खुट्टामा गोली लागेको थियो । ‘दाहसंस्कारका समयमा उनी ह्वीलचेयरबाट उठ्न खोज्थे, तर सक्दैनथे,’ दाहसंस्कारमा सहभागी एक जनाले बताए । 

‘हामीले उनलाई हात नमिलाउन अनुरोध गर्यौं । तर उनी सबैसँग हात मिलाउन चाहन्थे, उनी सबैजना उपस्थित भएकामा खुशी हुन चाहन्थे,’ अस्ट्रेलियाबाट दाहसंस्कारमा सहभागी हुन क्राइस्टचर्च पुगेका जमिल एल–बिजाले भने ।

मुस्तफा बाबुछोरा गत वर्ष मात्र न्यूजिल्यान्ड बसाइँ सरेका थिए । जोर्डनमा करिब छ वर्ष शरणार्थी जीवन बिताएर उनीहरु अस्ट्रेलिया हुँदै न्यूजिल्यान्ड पुगेका थिए । 

अस्ट्रेलियाली नागरिक २८ वर्षीय ब्रेन्टन ह्यारिसन टारान्टमाथि मस्जिद आक्रमण र व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता गरिएको छ । प्रहरीले टारान्ट एक्लैले गोली चलाएको हो वा अरु पनि सहभागी थिए भन्ने बारेमा अनुसन्धान गरिरहेको छ । 

न्यूजिल्यान्डकी प्रधानमन्त्री आर्डनले मुलुकको बन्दुक कानुनमा सुधार गर्ने बताउँदै अर्को साताभित्र नयाँ कानुन ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छन् । 





  • प्रकाशित मिति : चैत ६, २०७५ बुधबार १३:४८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया