निरब मोदीका १७३ पेन्टिङ र ११ लक्जरी कार लिलाम हुने
तस्बिर : एएनआई

मुम्बई– लन्डनबाट पक्राउ परेका भारतीय हिरा व्यापारी निरब मोदीका १७३ वटा पेन्टिङ र रोल्स सोयससहित ११ वटा लग्जरी कार लिलामीमा राखिने भएको छ ।

भारतको मनी लाउन्डरिङ नियन्त्रण ऐनअन्तर्गत गठित विशेष अदालतले आज आयकर विभागलाई निरबका कार तथा पेन्टिङ लिलाम गर्ने अनुमति दिएको हो । 
निरबका यी पेन्टिङ तथा कारहरु प्रवर्तन निर्देशनालयको नियन्त्रणमा छ । 

उनीमाथि पन्जाब नेसनल बैंकबाट १३ हजार करोड भारतीय रुपैयाँ ऋण अपचलन गरेको आरोप छ । फर्जी धितो बनाएर यति ठूलो ऋण उठाएका निरब यो काण्ड सार्वजनिक हुनुअघि नै भारतबाट भागेर बेलायतमा लुकिछिपी बसेका थिए । भारतले उनीविरुद्ध इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरेको थियो । 

केही दिनअघि निरब लन्डनको ३३ तल्ले सेन्ट्रल पोइन्ट अपार्टमेन्ट टावर परिसरमा फरक भेषमा घुमिरहेको फोटो सार्वजनिक भयो । सामाजिक सञ्जालमा यो फोटो भाइरल बन्यो । निरबलाई पक्राउ गर्न बेलायतमाथि दबाब पर्यो ।

सोमबार लन्डन अदालतले निरबविरुद्ध पक्राउ पुर्जी जारी गर्यो । र, मंगलबार स्थानीय समयअनुसार अपराह्नतिर उनलाई स्कटिस यार्डले लन्डनबाट पक्राउ गर्यो । 
निरब र उनकी पत्नीविरुद्ध मनी लाउन्डरिङ नियन्त्रण ऐनअन्तर्गत जमानत नहुने (ननबिलेबल) वारेन्ट पनि जारी भएको छ । 

१३ हजार ऋण हिनामिना गरेको केसमा उनीसँगै उनका काका मेहुल चोक्सी पनि मुछिएका छन् । 



चोक्सीलाई २०१८ को जनवरीमा एन्टिगुआ एन्ड बार्बुडाले नागरिकता दिएको थियो । मोदी र चोक्सी दुवैले गत जनवरीमै पन्जाब बैंक काण्ड सार्वजनिक हुनुअघि नै भारत छोडेका थिए । 

अदालत तथा सरकारी निकायहरुले पटकपटक उपस्थितिको आदेश जारी गरे पनि यी दुवै एकपटक पनि भारत फर्किएका थिएनन् । 
 



  • प्रकाशित मिति : चैत ६, २०७५ बुधबार १९:१२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया