उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितको जीवनरक्षा नै पहिलो काम भएको बताएका छन् ।
आज सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उपप्रधानमन्त्री खड्काले भूकम्पबाट घाइतेको जीवनरक्षा नै पहिलो दायित्व भएको बताउँदै त्यसका लागि सम्पूर्ण स्रोत र साधान परिचालन गरिएको बताए ।
रक्षामन्त्री समेत रहेका खड्काले घाइतेको उपचारका लागि काठमाडौंबाट नेपाली सेनाको स्काइ ट्रक र एमआई–१७ हेलिकोप्टरलगायत तीन वटा हेलिकोप्टर उद्धार तथा राहतमा प्रयोग भइरहेको जानकारी दिए ।
‘हाम्रो पहिलो प्राथमिकता घाइतेको उद्धार गरी अस्पताल पुर्याउनु हो’, उनले भने, ‘त्यसपछि राहत वितरणको कामका लागि नेपाली सेनालगायतको सम्पूर्ण जनशक्ति परिचालन गरिएको छ ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले भूकम्प प्रभावित जाजरकोट पुगेको र आवश्यक उद्धार र राहतको काम भइरहेको बताए । उनले उद्धार र राहतमा खट्नका लागि सबैलाई आग्रह गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।