logo-img

भूकम्पपीडितको उद्धार र राहतमा सहकार्यमा जुट्न प्रधानमन्त्रीको अनुरोध

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पपीडितलाई राहत, पुनःस्थापना र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत भूकम्प प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायत सबैलाई अपिल गरेका छन् ।   

गएराति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पको क्षति बुझ्न, पीडितका पीडा र अनुभूति सुन्न, घाइतेको उद्धार र पीडितको राहतका निम्ति आफू प्रभावित क्षेत्रमा पुगेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । प्रधानमन्त्री आज बिहानै स्वास्थ्यकर्मी र राहत सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रमा पुगेका थिए ।
 
प्रधानमन्त्री दाहालले भूकम्पबाट भएको क्षतिको स्थलगत अनुगमनका साथै घाइतेको उद्धारका लागि आफू चढेर गएको नेपाली सेनाको हेलिकोप्टरमार्फत घाइतेका उद्धार गरेका थिए । प्रधानमन्त्री दाहालले जाजरकोट र रुकुम पश्चिमका विभिन्न अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै पीडितको साथमा सरकार रहेको भन्दै नआत्तिन आग्रह गरेका छन् । 

यस्तै, सरकारले आजै जाजरकोट र रुकुमपश्चिमका लागि तत्काल पाँच÷पाँच करोड रुपैयाँ बराबरको बजेट उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

भूकम्प पीडितलाई राहतका लागि आवश्यक निर्णय गर्न प्रधानमन्त्री दाहालले आइतबार बिहान मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । 





  • प्रकाशित मिति : कात्तिक १८, २०८० शनिबार १५:३०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया