logo-img

जाजरकोट भूकम्प : जो भाग्यले बाँचे

जाजरकोट भेरी नगरपालिका–३ खलंगाका ४८ वर्षीय विमलकुमार कार्की भूकम्पमा परी घाइते भएका छन् । उनी गएरातिको भूकम्पबाट घर भत्किएपछि च्यापिएका थिए । 

उद्धारपछि कार्कीले भने, ‘भाग्यले बाँचेँ ।’ दुईतले कच्ची घरमा राति एक्लै सुतिरहेका बेला एक्कासि भूकम्प गएको र ब्युँझिएर अत्तालिएर घरबाट बाहिर निस्कन खोज्दा घर गल्र्याम्म ढल्दा माटोले च्यापिएर घाइते भएको उनले सुनाए । 

घाइते कार्कीले आफ्ना दुःख सुनाउँदै भने, ‘एक्कासि भूकम्प आएको थाहा पाएर झ्यालबाट बाहिर निस्कन खोज्दा झ्यालसँगै तल खसेँ र माटोले मेरो दुईवटै खुट्टा च्यापियो । रातिको समय थियो, एकछिन होसहवास गुम्यो, पछि होस आउँदा म बेस्सरी कराएँ । आधा घण्टापछि भतिज मन्दीप कार्की आयो । राति साढे १ बजे अस्पताल पुगेँ ।’

काका एक्कासि चिच्चयाएको आवाज सुनेर आफू दौडेर पुगेको घाइते कार्कीका भतिज मन्दीपले बताए । उनले भने, ‘म पुगेपछि वरिपरिका मानिसलाई बोलाएर स्टेचरमा बोकेर जाजरकोट अस्पताल पुर्‍यायौँ र त्यहाँ पनि घटनाका घाइतेको ठूलो भीडभाड रहेछ, डाक्टरले उहाँलाई राति साढे ३ बजे नेपालगञ्ज सिफारिस गर्नुभयो ।’ 

मन्दीपले काकालाई आज बिहान साढे ७ बजे एम्बुलेन्समा राखेर भेरी अस्पतालमा ल्याइपुर्‍याएका थिए । घाइतेमध्ये विमलकुमार नै पहिलो बिरामी उपचारमा आएको अस्पतालले जनाएको छ । अस्पतालका चिकित्सकले परीक्षण गर्दा विमलकुमारको दाहिने खुट्टाको दुई भाग भाँचिएको अस्पतालले जनाएको छ । २२ वर्ष पुरानो दुईतले कच्ची घरले झन्डै ज्यान लगेको उनले बताए । 

विमलकुमारको घरनजिकै ससुराली छ । श्रीमती र तीन छोरी उतै भएकले उनीहरू पनि बाँचेको उनले बताए । राति घरमा उनी एक्लै थिए । 



भगवानले परिवारैलाई जोगाएको घाइते विमलकुमारकी श्रीमती चन्द्रसिंहले बताइन् । उनी घटनाको बारेमा थाहा पाउनैबित्तिकै श्रीमानलाई खोज्दै जाजरकोट अस्पताल पुगेकी थिइन् । भूकम्प गएपछि छोरीलाई उठाएर बाहिर भागेर ज्यान बचाएको उनले सुनाइन् । उनी बसेको माइतीको घर भूकम्पले सामान्य भत्किएको र चिरा मात्र परेको थियो । 

चन्द्रसिंहले घटनालाई सम्झिँदै भनिन्, ‘यस्तो ठूलो विपद्ले हामी त सदरमुकामकालाई यस्तो भयो, भूकम्पको केन्द्रबिन्दु भएको क्षेत्रका मानिसको अवस्था के होला ! 
जाजरकोट केन्द्रबिन्दु भएर गए राति गएको भूकम्पमा परी गम्भीर घाइते भएकालाई थप उपचारका लागि नेपालगन्ज ल्याउने क्रम जारी रहेको छ ।



हालसम्म ३२ जना घाइतेलाई ल्याइएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझीले बताए । उनका अनुसार ३२ घाइतेमध्ये दुईजनाको अवस्था जटिल रहेको छ । 

अस्पतालका मेसु डा. रायमाझीले अस्पतालका सम्पूर्ण चिकित्सकसहितका कर्मचारीलाई उपचारकार्यमा खटाइएको भन्दै घाइते सबैको निःशुल्क उपचार भइरहेको बताए । 

भूकम्पमा परी गम्भीर घाइतेहरूको उपचारका लागि नेपालगन्जको भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, कोहलपुर शिक्षण अस्पतालमा उपचारको व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । उनका अनुसार घाइते तथा घाइतेका आफन्तका लागि सहजताका लागि स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठलाई तोकिएको छ ।

  • प्रकाशित मिति : कात्तिक १८, २०८० शनिबार २२:४७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया