महाराजगन्ज र रत्नपार्क क्षेत्रको विद्युत् प्रसारण प्रणाली भूमिगत गरिने

काठमाडौं– अव्यवस्थित प्रसारण लाइनका कारण कुरुप बनेको काठमाडौं उपत्यकाको विद्युत् प्रसारण प्रणालीलाई आगामी ३० महिनाभित्र भूमिगत गर्ने गरी निर्माण व्यवसायीसँग सम्झौता भएको छ । 

संसारका विकसित देशका सहरमा खुला रुपमा विद्युत् प्रसारण लाइन देख्न सकिँदैन । विद्युतीय दुर्घटनाको जोखिम बढेकाले विद्युतीय तार भूमिगत गर्न लागिएको हो । 

यसका लागि नेपाल विद्युत् प्राधिकरणले भारतीय कम्पनी केइआई इन्डस्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता गरेको हो । प्राधिकरणले काठमाडौंको बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने लक्ष्यका साथ गत फागुन ६ गते ती कम्पनीलाई छनोट गरेको थियो । सोही छनोटका आधारमा प्राधिकरणले केही दिन पहिले सो कम्पनीसँग सम्झौता गरेको हो । 

प्राधिकरणले पहिलो चरणमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतको विद्युत्को तारलाई भूमिगत गर्ने तयारी गरेको छ । प्राधिकरणले निर्माण व्यवसायीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको थियो । 

कम्पनीले सूचना जारी भएको २८ दिनभित्र कार्यसम्पादन जमानतसहित ठेक्का सम्झौताका लागि आउनुपर्ने व्यवस्था भएकाले सोही व्यवस्थाअनुसार केही दिनपहिले निर्माण व्यवसायीसँग सम्झौता गरिएको आयोजना प्रमुख अभिषेक अधिकारीले जानकारी दिए । 

कम्पनीसँग महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको काम गर्न करिब तीन अर्ब ५७ करोड ५१ लाख (करबाहेक) ठेक्का सम्झौता भएको हो । यस्तै, कम्पनीले रत्नपार्क वितरण केन्द्रअन्तर्गतको काम करिब तीन अर्ब १२ करोड १५ लाख (करबाहेक) सम्झौता गरिएको छ । 



महाराजगन्ज आयोजना प्रमुख अधिकारीले निर्माण व्यवसायी कम्पनीसँग सम्झौता भएको जानकारी दिँदै सम्झौताका सम्पूर्ण प्रक्रिया पूरा गरी आगामी जेठदेखि काम सुरु गर्ने लक्ष्य तय गरेको जानकारी दिए । कम्पनीले ठेक्का कार्यान्वयनमा आएको ३० महिनाभित्र काम सक्नुपर्ने व्यवस्था गरेको छ । 

पहिलो चरणमा काठमाडौंको पूर्व तथा दक्षिणमा पर्ने बागबजार, असन, दरबारमार्गलगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरमा बालुवाटार, गोंगबु, सामाखुसीलगायत महाराजगन्ज वितरण केन्द्रअन्तर्गत पर्ने क्षेत्रमा पर्ने विद्युत् वितरण प्रणालीलाई भूमिगत तथा स्वचालित बनाउन लागिएको हो । 



ठेकेदार कम्पनीले भूमिगत वितरण प्रणालीको डिजाइन, समान आपूर्ति, जडान र सञ्चालन गर्नेछ । पहिलो चरणमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४०० भोल्टका प्रणालीलाई भूमिगत र स्वचालित गरिनेछ । तार भूमिगत गरिएसँगै दुई वितरण केन्द्रअन्तर्गतका ९० हजार ग्राहकका घरमा स्मार्ट मिटरसमेत जडान हुनेछ । 

वितरण प्रणालीलाई भूमिगत गर्नुका साथै अप्टिकल फाइबर बिच्छ्याउने र बिजुली वितरणको तथ्यांक राख्न बेग्लै केन्द्र, दुई वितरण केन्द्रमा ९० हजार थान आधुनिक मिटर जडान गर्ने योजना छ । दोस्रो चरणमा काठमाडौंका अन्य क्षेत्र तथा अन्य महानगरपालिका र उपमहानगरपालिकामा भूमिगत लाइनलाई आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजनामा प्राधिकरण रहेको छ । 

सडकखन्दा सर्वसाधारणलाई धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होराइजेन्टन डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइनेछ । उक्त प्रविधि अपनाउँदा केही मिटरको दूरीमा दुई खाल्डा खनेर बीचमा भूमिगत तरिकाले नै पाइप हाल्न सकिने प्राधिकरणको भनाइ छ । 

  • प्रकाशित मिति : चैत ७, २०७५ बिहीबार १७:३१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया