कार्तिक कृष्णपक्षबाट प्रारम्भ हुने यो चाडलाई पञ्च तिथिहरूको उज्यालो चाडको रूपमा मनाइन्छ । यो चाड काग, कुकुर, गाई, गोरू र दाजुभाइलाई पवित्रभावले पूजा गरेर सबै प्राणीहरूलाई सम्मान गर्न सिकाउने चाड हो ।
अँध्यारो (कृष्णपक्ष)बाट प्रकाशको ज्योति प्रज्वलन गरी उज्यालो (शुक्लपक्ष) तर्फ ज्ञान बुद्धि विवेकको चेतनारूपी बत्ती झिलिमिली पार्दै डोर्याउने हुनाले यसलाई शुभ–दीपावली, दीपमाला, दीपमालिका, ज्योतिपर्व पनि भनिन्छ । महाभारतका अनुसार ‘सत्य’ मा आधारित दियोमा ‘तप’ को तेल हालेर ‘दया’को बत्ती बाली ‘क्षमा’ को ज्वालाबाट अँध्यारोलाई नाश गर्न ‘दीपक’ बालिरहनुपर्दछ । शक्तिका दीपक चन्द्र, दिनका दीपक सूर्य, तीनै लोकका दीपक धर्म र कूलका दीपक सुपुत्र भनी चन्द्र, सूर्य, धर्म र सुपुत्रको संज्ञा दिइएको छ ।
हाम्रो संस्कृतिमा सहज मृत्युलाई वरदान मानी मृत्युदेवलाई पुजिन्छ । गीतामा मृत्युलाई चोला बदलेको रूपमा आत्मालाई अमर मानेको छ । यी सबैलाई मृत्युदण्ड दिने मृत्युदेव यमराज नै हुन् । देवताहरूले प्रत्येक प्राणी जगत्लाई कर्म अनुसारको फल भोगाउने काममा यमराजलाई खटाई जिम्मा लगाएका छन् ।
यमराज तिहारका पाँच तिथिहरूमा वा पाँच दिनको लागि आफ्नो जिम्मेवारी चित्रगुप्तलाई जिम्मा लगाएर आफ्नी बहिनी यमुना कहाँ जान्छन् । त्यसैले उनको सत्कार र सम्झनामा उनीसँग सम्बन्धित जीव, पशुपक्षीको पूजा आराधना गरी मनाइने चाड भएकोले यी पाँच दिनलाई यमपञ्चक भनिन्छ ।
यसरी उनको पूजा आराधना गर्नाले यमराजको असहज, अकल्पनीय वा अकालमृत्यु भोग्नुपर्दैन भन्ने शास्त्रीय आख्यान पाइन्छ ।
तिहारको दोस्रो दिन कुकुरतिहार
आज यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहार । कुकुर यमराजको दूत भएको वर्णन शास्त्रमा पाइन्छ । युधिष्ठिरसँगै स्वर्ग गएको कुकरको प्रजाति आज पनि चोर अपराधीहरू पत्ता लगाउन प्रयोग गरिन्छ । आजको दिन घरमा पालेका कुकुरलाई आफ्नै सन्तानसरह सरसफाइ गरी तेल घसी, माला लग विभिन्न थरीका मनपर्ने खानेकुरा खान दिएर पूजा गरिन्छ । घरमा कुकुर नभए चौबाटोमा कुकुरलाई खानेकुरा राखिदिएर मात्र भोजन गरिन्छ ।
कुकुर पूजा गर्दा भन्ने श्लोक
द्वौ श्वानौ श्यामधबलौ वैवश्वतकुलोदभवौ ।
ताम्यामन्न प्रयत्छामि रक्षता पथि सर्वदा ।।
नरकका स्वामी यमराज भएकाले र श्रीकृष्णले यसै दिन ताडकासुरलाई मारेकाले यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।
फोहोरमैला पनि एक किसिमको नरक भएकाले यस दिन घर, आँगन, बाटो, चौतारी आदि सरसफाइ गरिन्छ । साँझमा घर आँगन, ढोका सबैतिर दीप प्रज्वलन गरिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।