लगानी सम्मेलनमा ३४ प्रतिशत चिनियाँ

काठमाडौं– ६ दिनपछि हुने लगानी सम्मेलनमा सबैभन्दा बढी सहभागी चिनियाँ हुने भएका छन् । लगानी बोर्डका अनुसार चैत १५ र १६ गते हुने लगानी सम्मेलनका लागि ६ सय २० जना विदेशी लगानीकर्ता आउने निश्चित भएकोमा ३४ प्रतिशत अर्थात् २ सय ९ जना चिनियाँ सहभागि हुने भएका हुन् । सम्मेलनमा सहभागि हुन ३८ देशका लगानीकर्ता आउने निश्चित भएको बोर्डले जनाएको छ । 

सम्मेलनमा भारतबाट १ सय १० र नेपालबाट ४९ लगानीकर्ता सहभागि हुने बोर्डले जनाएको छ । ४१ जना हङकङबाट, २८ जना म्यानमारबाट, २० जना जापानबाट, १५ जना दक्षिण कोरियाबाट लगानी सम्मेलनमा सहभागि हुन नाम दर्ता गराएका छन् । यस्तै, युएई र ओमन बाट १३÷१३ जना तथा अमेरिकाबाट ११ र श्रीलंकाबाट १० जना आउने पक्का भएको छ । यी बाहेक अन्य देशबाट १ सय १ जना सम्मेलनमा सहभागि हुने भएका छन् । 

यसअघिको सम्मेलनमा २ सय ५७ विदेशीलगानीकर्ता सहित ५ सय भन्दा बढीको सभागिता थियो । लगानी प्रतिवद्धताको हिसाबले चीन नै सबैभन्दा अगडि थियो । दुई वर्ष अघिको त्यो सम्मेलनमा चीनबाट मात्रै ८ खर्ब ४५ अर्बको लगानी प्रतिवद्धता आएको थियो । यस्तै, बंगलादेशबाट २ खर्ब ४० अर्ब, जापान र बेलायतबाट आएकाहरुले १÷१ खर्बको लगानी आउने प्रतिबद्धता जनाएका थिए । भारतबाट भने ३१ अर्ब ७० करोडको मात्रै प्रतिबद्धता थियो । 

 

तर, चीनको लगानी घट्दो छ

तर, उद्योग विभागको तथ्याङ्कमा भने चिनियाँ लगानी घट्दो देखिन्छ । चालु आर्थिक वर्षको पहिलो ८ महिनाको तथ्याङक हेर्दा चीनबाट भन्दा भारतबाट लगानी भित्रिएको हो । 



चालु आवको फागुनसम्म चीनबाट २ अर्ब १३ करोड र भातरबाट ५ अर्ब ५८ करोड लगानी नेपाल आएको छ । सोही अवधीमा सिंगापुरबाट साढे १ अर्ब र दक्षिण कोरियाबाट ६३ करोड लगानी भित्रिएको विभागले बताएको छ । यी बाहेक अहिलेसम्म विभिन्न २७ देशका ११ अर्ब २५ करोड बराबरको लगानी भित्रिएको छ । 

तर, गत वर्ष सबैभन्दा बढी लगानी चीनको थियो । पहिलो आठ महिनामा चीनले २८ अर्ब ४९ करोड लगानी भित्र्याउँदा भारतको ३ अर्ब ९८ करोड मात्रै थियो । सोही समयमा हङकङबाट ९ करोड लगानी नेपाल आएको थियो । 



  • प्रकाशित मिति : चैत ८, २०७५ शुक्रबार ८:२६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया