logo-img

काभ्रेमा नमोबुद्ध जात्रा आजदेखि, पितृका सम्झनामा दीप प्रज्ज्वलन गरिने
फाइल तस्बिर

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित नमोबुद्धमा आजदेखि जात्रा सुरु भएको छ । आज कात्तिक शुक्ल पूर्णिमा तिथि, शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिन । 

किंवदन्तीअनुसार बुद्धले लुम्बिनीमा पुनःजन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि जो, ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको स्थान । काभ्रेपलाञ्चोकको उक्त ऐतिहासिक, पर्यटकीय, धार्मिक एवं रमणीय स्थान नमोबुद्धमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा  मेला लाग्दै आएको हो ।

यो किंवदन्तीअनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बर्सेनि बौद्ध धर्मावलम्बीको निकै ठूलो भीड लाग्ने गर्दछ । मेलामा बर्सेनि करिब एक लाखले नमोबुद्धको दर्शन–पूजाअर्चना गर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जात्राअन्तर्गत आज दिनदेखि रातभरि र भोलि पनि नमोबुद्धमा मेला लाग्ने गर्दछ भने मेला अवधिभर परम्परागत गीत तथा नृत्यु प्रस्तुत गर्नेको उत्तिकै भीड लाग्ने गर्दछ । 

नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार मेला अवधिभर ‘पितृ’को सम्झनामा दीप प्रज्ज्वलन गरिन्छ । ‘यहाँ बर्सेनि पितृका नाममा बत्ती बाल्ने परम्परा रहँदै आएको छ, बत्ती बाल्नाले पितृलाई वर्षभरि उज्यालो हुने मान्यता छ’, उनले भने ।

विशेषगरी तामाङ र नेवार समुदायका धर्मावलम्बीले मेला भर्ने गरेको नमोबुद्धका मूल लामागुरु कान्छा लामाले बताउनुभयो । उहाँका अनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य) का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत (जङ्गल) मा सिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफूले देहत्याग गरी जीवन प्रदान गरेका थिए ।

सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गरेको हो । ‘पाँच डमरु जन्माएकी बघिनी लक्ष्मी मानिएको हो भने, पाँच डमरु भिक्षु भएका थिए’, लामागुरु लामाले भने । उनका अनुसार राजकुमारले बघिनीलाई बचाएर आफूले देहत्याग गरेपछि राजा–रानी सोही नजिकै बाँकी जीवन चैत्यसेवामा बिताएका थिए । रासस 





  • प्रकाशित मिति : मंसिर ११, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया