logo-img

राष्ट्रिय सभा निर्वाचन ११ माघमा गर्ने सरकारको निर्णय

सरकारले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको हो । 

बैठक पछि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भनिन्, ‘राष्ट्रिय सभाको जुन रिक्त सदस्य पद हुँदै छ । त्यसको पदपूर्तिको लागि २०८० साल माघ ११ गते निर्वाचन गर्ने भन्ने निर्णय भएको छ । निर्वाचन आयोगको परामर्श बमोजिम ।’

निर्वाचन आयोगको परामर्श बमोजिम सो दिन निर्वाचन गर्ने निर्णय गरिएको शर्माले जानकारी दिइन् । त्यसै गरी बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा सरिता दवाडीलाई बढुवा गर्ने निर्णय गरेको पनि उनले बताइन् । 

बैठकले भूकम्प प्रभावित जिल्ला जाजरकोटमा अस्थायी आवास निर्माण गर्ने काममा जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने निर्णय गरेको मन्त्री शर्माले बताइन् । 

मन्त्रिपरिषद् बैठकले गरेका अन्य निर्णय सुनाउँदै उनले भनिन्, ‘जाजरकोट केन्द्रविन्दु भई कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावितहरूलाई अस्थायी आवास निर्माणको कार्य ढिला भयो भन्ने कुरा आएको छ । जसरी राहत र उद्धारको कार्य भएको थियो त्यो ढंगले अस्थायी आवास निर्माणमा समस्या भयो भन्ने आइसके पछाडि अस्थायी आवास निर्माण कार्यको लागि प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समिति बनेको हुन्छ । त्यसको सिफारिसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई खटाउने निर्णय भएको छ ।

यदि जिल्लामा जनशक्ति अपुग भएमा प्रमुख जिल्ला अधिकारीको मागका आधारमा थप जनशक्ति उपलब्ध गराउने भन्ने पनि छ । सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय भएको छ ।’



मन्त्रिपरिषद्ले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय पनि गरेको छ । 



  • प्रकाशित मिति : मंसिर १३, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया