स्ववियुको लफडाले क्याम्पस बन्द, चुनाव गराउन छाडेर प्रशासन फरार भएको भन्दै विराेधमा विद्यार्थी

बट्टार– नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको विषयलाई लिएर विवाद बढेपछि क्याम्पस प्रशासनले पाँच दिनका लागि पठनपाठन बन्द गरेको छ । १० चैतलाई स्ववियु निर्वाचनको मिति तोकिएकोमा निर्वाचनको वातावरण बनाउन नसकेपछि प्रशासनले ७ देखि १२ गतेसम्म क्याम्पस बिदा दिएको हो । 

निर्वाचनको वातावरण बनाउनुको साटो क्याम्पस प्रशासनले क्याम्पस नै बन्द गरिदिएको भन्दै विद्यार्थीहरु विरोधमा उत्रिएका छन् । 

सत्तारुढ नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले जसरी पनि चुनाव गराउनुपर्ने पक्षमा दबाब दिँदै आएका थिए । नेवि संघमा भने चुनावबारे विवाद देखिएको थियो । नेवि संघ समर्थक केही विद्यार्थीले ‘निर्वाचनको तयारी रोक्न’ प्रशासनमा ताला समेत लगाएको अनेरास्ववियुका नेता विष्णुहरि रिमाल ‘सत्यश्री’ले फरकधारलाई बताए । 

‘चुनाव गराउनुपर्ला भनेर होलीको बहानामा १२ गतेसम्मलाई बिदाको सूचना टाँसी प्रशासन फरार भएको’ उनको टिप्पणी छ । ‘विद्यार्थीलाई प्रशासनसँग जोड्ने सेतु स्ववियु हो,’ अनेरास्ववियुबाट सभापतिका प्रत्यासी रिमाल भन्छन्, ‘१० वर्षदेखि नभएको स्ववियु चुनाव गराई विद्यार्थीको हक–अधिकार सुनिस्चित गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

आफूले चुनावको पक्षमा आवाज उठाउँदा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठनिकट केही व्यक्तिले फोनमा अश्लील गालीसहित धम्की दिएको बताउँदै उनले भने, ‘श्रीरामको विरुद्ध किन जान्छस् ? सिद्धेलास्, भन्दै धम्की दिए ।’ 

पटकपटक फोनमा धम्की आएपछि कल रेकर्डसहित जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको विद्यार्थी नेता रिमालले बताए । 



११ कक्षादेखि स्नाकोत्तरसम्म पढाइ हुने क्याम्पसमा १ हजार ५ सयजति विद्यार्थी अध्ययरत छन् । 

क्याम्पस खुलाउन शुक्रबार दिनभर क्याम्पस प्रमुख डंगोलसहित राजनीतिक दल, विद्यार्थी संगठनलगायतको जिल्ला प्रशासन कार्यालयमा भएको प्रयास असफल भयो । बिदा भए पनि विद्यार्थी दिनहुँ क्याम्पसमा भेला भएर नाराबाजी गर्दै पढाइ हुनुपर्ने माग गर्दै आएका छन् । 



क्याम्पसमा २०६५ पछि स्ववियु चुनाव भएको छैन । यसपटक चुनावका लागि अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघले संगठन दर्ता गराएका थिए ।

यता, नेवि संघका सुरज सिलवाल आफ्नो संगठन चुनावकै पक्षमा रहेको बताउँछन् । तोकिएको मितिमा चुनाव गराउन सबै तयारी भए पनि क्याम्पस प्रशासनको उदासीनताले द्वन्द्व उब्जिएको उनको टिप्पणी छ ।

  • प्रकाशित मिति : चैत ९, २०७५ शनिबार १३:४८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया