logo-img

राष्ट्रिय सभा सदस्य निर्वाचनको मनोनयन दर्ता पुस २३ मा

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि माघ २० गते निर्वाचन मतदाता नामावली प्रकाशित गर्ने भएको छ । 

आयोगले आगामी माघ ११ गतेका लागि तय गरेको निर्वाचन कार्यक्रम अनुसार पुस २१ गते नामावलीमाथि दाबी–विरोध र पुस २२ गते अन्तिम मतदाता नामावलीसमेत प्रकाशन हुनेछ ।

अन्तिम मतदाता नामावली आयोगको वेबसाइट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुने आयोगका सहायक प्रवक्ता एवं उपसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म हुने र मनोनयन दर्ता भएपछि उम्मेदवारको विरोधमा उजूरी दिने कार्य पुस २४ गते हुने उनले बताए। 

मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली पुस २६ गते प्रकाशन हुनेछ । उम्मेदवारले नाम फिर्ता लिने कार्य पुस २७ गते सम्पन्न भएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्य पुस २७ गते दुई बजे सम्पन्न हुनेछ ।

उम्मेदवारलाई निर्वाचन चिन्ह पुस २८ गते बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म उपलब्ध गराउने कार्यक्रम रहेको आयोगका सहायक प्रवक्ता अर्यालले जानकारी दिए ।



माघ ११ गते बिहान नौ बजेदेखि दिउँसो तीन बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने उनले बताए । मतदान कार्य सम्पन्न भएपछि त्यसै दिनै मतगणना गरिनेछ । 

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्न नपाउने पनि निर्वाचन आयोगले स्पष्ट पारेको छ ।



प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा तीनमामा भएको व्यवस्था अनुसार सोही दफाको उपदफा एकको प्रतिबन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ ।

  • प्रकाशित मिति : मंसिर १७, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया