logo-img

राष्ट्रिय सभा अध्यक्षका लागि सत्तागठबन्धनमा रस्साकस्सी, कांग्रेसबाट सिटौलाको पल्लाभारी

आगामी फागुनमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदको पदावधि सकिँदै छ । सत्तारुढ गठबन्धनमा राष्ट्रिय सभा अध्यक्षका लागि रस्साकस्सी सुरु भएको छ । 

गठबन्धनमा आबद्ध प्रमुख तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले राष्ट्रिय सभा अध्यक्ष पदमा दाबी गरिरहेका छन् । कांग्रेसबाट सो पदका लागि पूर्वउपसभापति गोपालमान श्रेष्ठ र पूर्वमहामन्त्री कृष्ण सिटौला प्रमुख दाबेदार हुन् । 

सिटौलाले यसअघि राष्ट्रपतिमा आकांक्षा देखाएका थिए । राष्ट्रपति निर्वाचनका बेला एमालेसँग गठबन्धनमा रहेको माआवादीले सिटौलालाई राष्ट्रपतिको उम्मेदवार बनाएमा सहयोग गर्ने वचन दिएको खबर बाहिरिएको थियो ।   

कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनकै बेला अर्का नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा वचन दिएकाले देउवाकै जोडबलमा पौडेल राष्ट्रपतिको उम्मेदवार बनेका थिए । 



कांग्रेसको महाधिवेशनपछि वरिष्ठ नेता कसलाई बनाउने भन्ने विषयमा चर्चा भएको थियो । त्यतिबेला एकपक्षले शेखर कोइरालालाई वरिष्ठ नेता बनाउनुपर्ने माग राखे पनि संस्थापन पक्षले भने पौडेल र गोपालमान श्रेष्ठमध्येबाट एकजनालाई वरिष्ठ नेता बनाउने मनशाय राखेको थियो । 

त्यतिबेलै नेता श्रेष्ठले पौडेलभन्दा आफू वरिष्ठ भएको दाबी गरेका थिए । पौडेल राष्ट्रपति बनिसकेकाले श्रेष्ठ पार्टीको वरिष्ठ नेताको लगभग एक्लो दाबेदार बनेका छन् ।  सभापति देउवाले श्रेष्ठलाई वरिष्ठ नेता बनाएर सिटौलालाई राष्ट्रिय सभा अध्यक्षमा अघि सार्ने बलियो सम्भावना छ ।



यता, माओवादीले भने संसदको ठूलो दल कांग्रेसको राष्ट्रपति दोस्रो दल एमालेको सभामुख रहेकाले तेस्रो ठूलो दलका हैसियतले आफूले राष्ट्रिय सभा अध्यक्ष पाउने दाबी गरिरहेको छ । माओवादीले हाल कायम रहेको राष्ट्रिय सभा उपाध्यक्ष पद छाडेर अध्यक्ष लिने रणनीति लिएको हो । 

माओवादीबाट अहिले उर्मिला अर्याल राष्ट्रिय सभा उपाध्यक्ष छिन् । माओवादीले राष्ट्रिय सभाको अध्यक्ष आफूले पाएमा नारायण दाहाललाई अघि सार्ने सम्भावना छ । 



सत्तारुढ गठबन्धनको तेस्रो ठूलो दल एकीकृत समाजवादीले पनि सो पदमा दाबी गरेको छ । प्रतिनिधिसभामा राष्ट्रिय दल नबनेका कारण आफ्नै पुरानो पार्टी एमालेले बारम्बार गर्दै आएको कटाक्षको तुस मेटाउनकै लागि पनि सो पार्टीले अध्यक्ष पदमा दाबी गरेको हो । 

माओवादीको प्रधानमन्त्री, कांग्रेसको राष्ट्रपति, जसपाको उपराष्ट्रपति रहेकाले राष्ट्रिय सभाको अध्यक्षमा आफनो पार्टीको स्वाभाविक दाबी रहने एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन् । 

तर, राष्ट्रिय सभा अध्यक्षमा माओवादीले सिटौलाको नाममा सहमति दिइसकेको उनीनिकट नेतारूले बताउने गरेका छन् । वर्तमान राजनीतिक अवस्था र संविधान कार्यान्वयनलगायतमा दलहरूबीच समन्वयात्मक भूमिका खेल्नुपर्ने भएकाले त्यसका लागि सिटौला नै सबैभन्दा उपयुक्त पात्र भएको उनीहरूको दाबी छ । 

लगातार दुईवटा महाधिवेशनमा सभापति पदमा जिताउन सिटौलाले लगाएको गुन तिर्न पनि देउवाले उनैलाई राष्ट्रिय सभा अध्यक्षमा पठाउने आकलन गर्न सकिन्छ । 

  • प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया