logo-img

राष्ट्रिय सभामा एमालेले माग्यो पाँच सिट, एमालेलाई मिसाए गठबन्धन छाड्ने साना दलको धम्की
तीन सिटमा कुरा मिल्ने सम्भावना

बुधबार राष्ट्रिय सभा निर्वाचनको सिट भागबण्डाका लागि बसेको सत्तारुढ गठबन्धनको बैठक विनानिष्कर्ष टुंगियो । एकातिर गठबन्धनभित्रका दललाई मिलाउनुपर्ने बाध्यता, अर्कोतिर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि समेट्नुपर्ने आवश्यकताका कारण गठबन्धनका प्रमुख दुई दल कांग्रेस र एमाले अफ्ट्यारोमा परेका छन् ।  

शान्तिप्रक्रियाको काम टुंगो लगाउनुुपर्ने र त्यसका लागि एमालेको साथ चाहिने आवश्यकता महसुस गरेर कांग्रेस र माओवादी राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेलाई समेट्न सकारात्मक देखिएका हुन् । बुधबार प्रधानमन्त्रीसँगको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभामा आफूहरूलाई यथोचित सम्मानका साथ समेटेमा यसपछिका विषयमा पनि सहमति गरेर जान सकिने प्रस्ताव गरेका थिए ।

राष्ट्रिय सभामा एमालेबाट खाली हुन लागेको नौ सिटमध्ये पाँच सिट आफूहरूलाई दिनुपर्ने एमालेको माग छ । तर, सत्तापक्ष तीन सिटसम्म दिन तयार हुने हो भने एमालेले चित्त बुझाउन सक्ने सम्भावना छ । 

एमाले​लाई सिट भागबण्डा गर्दा आफूहरूको भाग खोसिने डरले साना दलहरूले भने एमाले​को प्रस्ताव ठाडै अस्वीकार गर्दै आएका छन् । एमालेबाट छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादी र चुनावमा एमालेसँगै गठबन्धन गरेको जनता समाजवादी पार्टी मात्र होइन, जनमत पार्टीले समेत राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य गर्न नहुने अडान राख्दै आएका छन् । 

पछिल्लो समय गठबन्धन बैठकमा पनि आफूहरूलाई बोलाउन छोडेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । जनमत पार्टीका अध्यक्ष सिके राउतले आफूहरू गठबन्धनमा भए पनि निर्णय भएपछि मात्र जानकारी गराउने गरेको भन्दै आपत्ति प्रकट गरेका छन् । 

गठबन्धनकै अर्को दल जसपाले पनि एमालेलाई सिट दिएर राष्ट्रिय सभामा जाने सहमति मान्य नहुने चेतावनी दिएको छ । एकीकृत समाजवादीले त एमालेसँग मिलेर राष्ट्रिय सभा निर्वाचनमा गएमा आफ्नो पार्टी गठबन्धनबाटै बाहिरिने धम्की दिएको छ । साना दल मात्र होइन, सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको इतर पक्ष पनि राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य गर्न नहुने अडानमा छ ।



शान्ति प्रक्रियाको टुंगो लगाउने विषय मात्र होइन, राजतन्त्र पक्षधरहरूको पछिल्लो सक्रियताका कारण पनि ठूला तीन दलले एक ठाउँमा उभिनुपर्ने आवश्यकता महसुस गरेका छन् । सोमबार कांग्रेसले मेलमिलाप दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा ती दलका नेताहरूले व्यक्त गरेको विचारबाट पनि सो कुरा पुष्टि हुन्छ । 

पुराना दलप्रतिको आमजनताको वितृष्णा र त्यसैलाई उपयोग गर्दै संसदको चौथो दल बन्न सफल भएको रास्वपाका कारण पनि ठूला दलले मिलेर जानुपर्ने आवश्यकता महसुस गरेका छन् । यही समयमा उत्तरी र दक्षिणी मित्रराष्ट्रहरूका ठूला भ्रमण हुन लागेका छन् । त्यसलाई पनि मध्यनजर गर्दै प्रमुख दलहरू नजिकिएको अनुमान गर्न सकिन्छ ।   



  • प्रकाशित मिति : पुस १८, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया