वैशाखबाट सुरु हुने स्मार्ट पार्किङमा ८ सय मोटरसाइकल र ४० गाडी पार्किङ गर्न सकिने

काठमाडौं– नयाँ वर्षदेखि काठमाडौंका विभिन्न ५ ठाउँमा ८ सय मोटरसाइकल र ४० गाडी अट्नेगरी ‘स्मार्ट पार्किङ’ सुरु हुने भएको छ । 

पहिलो चरणमा काठमाडौँका नयाँ सडकको रामेश्वर मिठाई पछाडिको भाग, विशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आर.बि कम्प्लेक्स अगाडिको स्थानमासहित ५ ठाउँमा स्मार्ट पार्किङ सुरू गर्न लागिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । महानगरपालीकाले ब्हिल्सट्रली योर्स प्रा. लि.सँगको सहकार्यका यो सेवा सुरु गर्न लागेको हो ।

सवारीको अत्याधिक चाप व्यवस्थापन हुन नसक्दा सामान्य जीवन पद्धति र सहरी सुविधाको उपलब्धतामा समस्या भएपछि लामो समयदेखि प्रविधिमा आधारित समाधान हेरिरहेको महानगरले उपलब्ध स्थानको अधिक उपयोग हुने गरी पार्किङ योजना अघि बढाएको जनाएको छ । 

पछिल्लो समय बढ्दै गएको सावारी चापले गर्दा उपत्यकामा पार्किङको समस्या बढ्दै गएको छ । काठमाडौंको चरित्र, सरल उपयुक्त र दीगो तथा प्रयोगकर्ताको आवश्यकता पूरा गर्ने पार्किङ व्यवस्थापन आफ्नौ प्राथामिकतामा रहेको बताउने काठमाडौँ उपत्यकाका मेयर विद्यासुन्दर शाक्यले पार्किङलाई सहज बनाउन सकियो भने मात्र पनि सहरको यातायात प्रणालीमा ठूलो सुधार हुने बताउँछन् । 

अब महानगरले तोकेको ठाउँमा स्मार्ट अटोमेटेड पार्किङ सिस्टम हुनेछ । नयाँ सडक जानुअघि उपभोक्ताले मोवाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सक्छन् । ठाउँ रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्क्रिन हेरेर पार्किङ गर्ने ठाउँ हेर्न सक्ने महानगरपालिकाले बताएको छ ।

त्यस ठाउँको व्यवस्थापनका लागि गोप्रो क्यामरा सहितका पार्किङ सहयोगी राखिनेछ । उनीहरूसँग भएको क्यामराले त्यस क्षेत्रमा भएका गतिविधि आवाजसहित रेकर्ड गरेर राख्छन् । ती क्षेत्रमा पार्किङ् गर्दा दुई पाङ्गे सवारीकालागि प्रति घण्टा करबाहेक २० रूपैयाँ, चार पाङ्ग्रेका लागि प्रति घण्टा ५० रूपैयाँ र ६ पाङ्ग्रे वा सोभन्दा माथिका लागि प्रति घण्टा २०० रूपैयाँ शुल्क लाग्नेछ । यसरी संकलन गरिएको रकमबाट सञ्चालकले महानगरलाई राजस्व बुझाउने छन् । 



महानगर क्षेत्रका पार्किङ स्थललाई क्षेत्र अनुसार शुल्क निर्धारण गरिएको छ । न्युरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग लगायत भित्री सहरी क्षेत्र क्षेत्र नं. २ मा पर्दछन् । त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौर, सोह्रखुट्टेबाट विष्णुमति रोडहुँदै टेकु र त्यहाँबाट त्रिपुरेश्वरसम्मको सडकले घेरिएको भाग भित्री शहरी क्षेत्र हो । 

काठमाडौंमा सवारी पार्किङ व्यवस्थापनका लागि ट्वीन, पजल, मिनी रोटरी र टावर पार्किङ् निर्माण तथा सञ्चालनमा ल्याउन सकिने प्रस्तावहरू आएका छन् ।



यीमध्ये अहिले प्रयोगमा ल्याउन लागिएको प्रणालीमा सेन्सरमा आधारित छ । यसमा सवारी प्रवेश गरेको र निस्किएको रेकर्ड हुन्छ । रिजर्भ गरेको समय, पार्किङ् गरिएको स्थान र समय, पार्किङ् शुल्कजस्ता बिवरण क्युआर कोडबाट पनि हेर्न सकिन्छ । यसका एप्लिकेसनहरू एन्ड्रोइड र आइओएस दुवैमा डाउनलोड गर्न सकिने महानगरपालिकाले बताएको छ । 

  • प्रकाशित मिति : चैत १३, २०७५ बुधबार १६:१८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया