महोत्तरीको औरहीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बर्दिबास–जलेश्वर सडक खण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको हो ।
यस्तै, मोटरसाइकलको पछाडि सवार दुईजना गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।
औरही नगरपालिका–१ वडा कार्यालय नजिक सोमबार राति ९ बजे बर्दिबासबाट रामगोपालपुरतर्फ जाँदै गरेको प्रदेश २–०२–००४प १८४० नम्बरको पल्सर मोटरसाइकल र रामगोपालपुरबाट बर्दिबासतर्फ आउँदै गरेको ज ११ प ८०९९ नम्बरको डिस्कभर मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा पल्सर मोटरसाइकल चालक रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र डिस्कभर मोटरसाइकल चालक भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा भंगहा नगरपालिका–५ विर्ता पलारका ३१ वर्षीय श्रीराम गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका २६ वर्षीय प्रदीपकुमार यादव रहेका छन् ।
हुस्सु लागेको बेला एकअर्कालाई देख्न नसक्दा तीव्र गतिमा आएका दुवै मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।