एजेन्सी– अन्तर्राष्ट्रिय चामल अनुसन्धान केन्द्र (इरी) फिलिपिन्सका महानिर्देशक डा म्याथ्यु मरेलले अब उनीहरु चामलबाट मानिसका लागि चाहिने रगत तयार पार्न जुतेको जानकारी दिएका छन् । योसँगै क्यान्सरजस्ता प्राणघातक रोगको पनि निदान हुने उनले बताएका छन् । यस विषयमा अनुसन्धान गर्न अहिले वैज्ञानिकहरु लागिरहेको र यसको अध्ययन सकिएपछि सकारात्मक नतिजा आएमा विश्वमा रगतको अभाव भएर कसैले पनि ज्यान गुमाउन नपर्ने विश्वास लिइएको छ ।
अहिले बनारसमा चलिरहेको एक कार्यक्रममा भारत, नेपाललगायतका विभिन्न देशबाट सम्बन्धित व्यक्तिहरु सहभागी छन् । र, त्यहाँ एशियामा चामलको अवस्था र अहिलेसम्म भएका अध्ययन र आगामि कार्ययोजनाबारे छलफल गरिएको छ । त्यही कार्यक्रममा फिलिपिन्सका महानिर्देशक म्याथ्युले यो जानकारी दिएका हुन् ।
उनले आनुवांशिक रुपबाट संशोधन गरिएको दक्षिण एशियाली चामलामा मानवीय रगतका लागि चाहिने प्रमुख यौगिक भेटिएको र यो अनुसन्धान छिट्टै निष्कर्षमा पुग्ने बताएका छन् । उनले वैज्ञानिकहरुले यसलाई मानिसमा प्रत्यारोपण गर्न प्रयास थालिसकेको बताएका छन् । योमात्रै होइन, भारतलगायतका देशमा चामलबाट कसरी क्यान्सर रोगको उपचार गर्ने भन्ने पनि अनुसन्धान सुरु भएको छ । कालो चामलले मुटु, कलेजो तथा अन्य अंगको स्वास्थ्यलाई निकै राम्रो बनाउने भएकाले अब रोगमुक्त चामलको विकासमा इरी लाग्ने पनि जानकारी दिइएको छ ।
अब गुणवत्तायुक्त धानको उत्पादन गर्ने विषय ठूलो चुनौति भएको बताउँदै म्याथ्युले स्वादसँगै सुगन्धयुक्त चामलमाथि पनि रिसर्च सुरु भएको जानकारी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।