बलिउडमा हालसम्म महेन्द्रसिंह धोनी, मोहम्मद अजहरुद्दीन र प्रवीण ताम्बेजस्ता कैयौं पूर्वक्रिकेटरको जीवनलाई बायोपिक फिल्ममार्फत दर्शकले हेरिसकेका छन् । बायोपिकको सूचीमा अब भारतीय क्रिकेट टिमका पूर्वकप्तान सौरभ गांगुली पनि जोडिने भएका छन् ।
फिल्म निर्माता तथा निर्देशक लव रन्जनले आफ्नो प्रोडक्सन हाउसमार्फत सौरभको बायोपिक बनाउने तयारी गर्दैछन् । त्यसो त उनले यो फिल्म बनाउने घोषणा धेरै अगाडि गरेका थिए । तर कैयौं कारणले फिल्मको सुटिङ सुरु हुन ढिलाइ भइरहेको थियो ।
अब भने लवले आफ्नो सह–निर्माता अंकुर गर्गसँग मिलेर यो फिल्मको काम सुरु गर्ने तयारी गरेका छन् । यो फिल्म घोषणा हुनासाथ अभिनेता रणवीर कपूरले सौरवको भूमिका निर्वाह गर्ने चर्चा थियो । तर, अब भने यो भूमिकामा अर्का अभिनेता आयुष्मान खुराना फाइनल भएका छन् ।
फिल्मको निर्देशक विक्रमादित्य मोटवाणीले गर्नेछन् । निर्देशक विक्रमादित्य निर्माताहरूको पहिलो रोजाइमा थिए । तर बीचमा विक्रमादित्य अन्य प्रोजेक्टमा जोडिनु पर्ने भएपछि उनले बायोपिक प्रोजेक्ट छोडेका थिए ।
उनले छोडेपछि निर्माताले सुपरस्टार अभिनेता रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तलाई निर्देशनको जिम्मा दिने सोच बनाएका थिए ।
यद्यपि विक्रमादित्यले पुनः फिल्म निर्देशनको जिम्मेवारी लिएका छन् । आयुष्मानले हालै मात्र फिल्ममा सहकार्यको सम्झौता गरेका छन् । आयुष्मानलाई यो फिल्ममा अनुबन्ध गर्नुको कारण यो हो कि उनी पनि गांगुलीजस्तै बायाँ हाते ब्याटर हुन् ।
निर्माताले यो वर्षको दोस्रो ६ महिनामा सुटिङ गर्ने योजना बनाएका छन् । यसअघि आयुष्मानले क्रिकेट खेल्न र सौरभको शैली सिक्नका लागि तालिम लिनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।