logo-img

बजेट अर्धवार्षिक समीक्षा : आम्दानीभन्दा खर्च बढी, पुस मसान्तसम्म ४८ अर्ब घाटा

आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । पुस मसान्तसम्ममा मुलुकले ४८ अर्ब ४६ करोड ५७ लाख रुपैयाँ बराबर बजेट घाटा बेहोरेको छ । 

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार बजेटको अर्धवार्षिक समीक्षा अवधिमा वार्षिक लक्ष्यको ३५ दशमलब १९ प्रतिशत आम्दानी र ३२ दशमलब ३५ प्रतिशत खर्च भएको छ । चालू आवका लागि सरकारले कूल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ बराबर राजश्व उठाउने लक्ष्य लिएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा ५ खर्ब १८ अर्ब १५ करोड ५६ लाख रुपैयाँ बराबर राजश्व असुली भएको छ । यो वार्षिक लक्ष्यको ३५ दशमलव १९ प्रतिशत बराबर हो । ६ महिनामा कर राजश्वतर्फ ३३ दशमलव ९८ प्रतिशत अर्थात् ४ खर्ब ४३ अर्ब ५५ करोड २० लाख रुपैयाँ उठेको छ । गैरकरतर्फ वार्षिक लक्ष्यको ४५ दशमलव २३ प्रतिशत अर्थात् ५२ अर्ब ९४ करोड ७८ लाख रुपैयाँ बराबर असुली भएको छ ।

चालू आवका लागि कूल ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखिएकामा हालसम्म पाँच दशमलव ५२ प्रतिशत अर्थात् २ अर्ब ७५ करोड ८० लाख बराबर वैदेशिक अनुदान लिइएको छ । चालू आवका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको वार्षिक बजेट रहेकामा पुस मसान्तसम्ममा ५ खर्ब ६६ अर्ब ६२ करोड १३ लाख रुपैयाँ खर्च भएको छ । 

यो वार्षिक लक्ष्यको ३२ दशमलव ३५ प्रतिशत बराबर हो । चालूगत शीर्षकमा कूल ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ बराबर बजेट छुट्याइएकामा ३८ दशमलव ३१ प्रतिशत अर्थात् रु चार खर्ब ३७ अर्ब ३८ करोड १२ लाख खर्च भएको छ । चालू शीर्षकमा हालसम्म भएको खर्च वार्षिक लक्ष्यको ३८ दशमलव ३१ प्रतिशत हो ।

त्यसैगरी, पुँजीगत खर्च शीर्षकमा ३ खर्ब २ अर्ब सात करोड ४४ लाख रुपैयाँ बराबर छुट्याइएकामा १६ दशमलव तीन प्रतिशत अर्थात् ४९ अर्ब २३ करोड ५८ लाख रुपैयाँ बराबर खर्च भएको छ ।



वित्तीय व्यवस्थामा ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख बराबर बजेट विनियोजन भएकामा २६ दशमलव दुई प्रतिशत अर्थात् ८० अर्ब ४३ लाख रुपैयाँ बराबर खर्च भएको छ ।  



  • प्रकाशित मिति : माघ १, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया