अन्तरिक्षमा फोहोर थुपार्नेमा अब भारत पनि, के हुन्छ असर ?

वासिंगटन– भारतले एन्टी–स्याटेलाइट मिसाइल परीक्षण गरेपछि अमेरिकी कार्यवाहक रक्षामन्त्री प्याट्रिक सानाहानले यस्तो परीक्षणले अन्तरिक्षमा फोहोर बढाउने भन्दै चेतावनी दिएका छन् । 

बुधबार भारतले एक मिसाइल प्रयोग गरी आफ्नै एक सानो भू–उपग्रहलाई गिराएको थियो । 

प्याट्रिकले यस मामलामा अमेरिकाले अध्ययन गरिरहेको बताएका छन् । भारतले भने आफूले यो जानेरै अन्तरिक्षमा फोहोर नबसोस्, सबै टुक्रा धर्तीमै झरोस् भनेर कम उचाइमा परीक्षण गरेको बताएको छ । 

तर, केही विशेषज्ञहरुले भारतको यो दाबीको खण्डन गरेका छन् । उनीहरुका अनुसार, यसरी उत्पन्न हुने टुक्रालाई नियन्त्रण गर्न सकिँदैन । यी कुन दिशामा जान्छन्, निश्चित गर्न ज्यादै मुस्किल पर्छ । 

समाचार संस्था रोयटर्सले अमेरिकी रक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै बताएअनुसार अमेरिकी सेना भारतको यस परीक्षणबाट उत्पन्न २५० वटा टुक्रामाथि निगरानी गरिरहेको छ । 

अमेरिका, रुस र चीनपछि यस्तो परीक्षण गर्ने भारत चौँथो देश हो । अमेरिकाले सन् १९५९ मै यो परीक्षण गरेको थियो । 



चीनले सन् २००७ मा यस्तै परीक्षण गर्दा अन्तर्राष्ट्रिय स्तरमा उसको निकै आलोचना भएको थियो । 

२००७ मा चीनले एक पुरानो मौसम उपग्रहलाई ८६५ किलोमिटरको उचाइमा मिसाइलले हानेर खसालेको थियो । यो परीक्षणबाट अन्तरिक्षमा भारी मात्रामा फोहोर जम्मा भएको थियो । 



यही उदाहरण दिँदै अमेरिकी अन्तरिक्ष संस्था नासाले भारतले गरेको परीक्षणबाट पनि अन्तरिक्षमा भारी मात्रामा फोहोर बढ्ने चेतावनी दिएको छ ।

अन्तरिक्षमा जम्मा हुने यस्तो फोहोरले भू–उपग्रहहरुको कार्यसम्पादनमा बाधा गर्छ । सबैखाले स्पेस भेइकल र स्पेस सेन्टरहरुमा यस्ताे फाेहाेरका टुक्राले हानि गर्न सक्छन् । यसले पृथ्वीको वायुमण्डललाई पनि प्रदूषित गर्न सक्छ । 

अमेरिकी अन्तरिक्ष एजेन्सी प्रमुख जिम ब्रिडेन्स्टाइनले आफूहरु यस्तो समस्यासँग पहिलेदेखि नै जुझिरहेको भन्दै ‘केही मानिस एन्टी–स्याटेलाइट परीक्षण जानी–बुझी गरेर अन्तरिक्षमा फोहोर फैलाउन लागिपरेको’मा चिन्ता व्यक्त गरेका छन् । 

उता, हतियार नियन्त्रणको वकालत गर्नेहरुले भने अन्तरिक्षमा बढ्दो सैन्यीकरणमाथि चिन्ता व्यक्त गरेका छन् । यद्यपि, भारतीय विदेश मन्त्रालयले परीक्षणलाई शान्तिपूर्ण भन्दै ‘अन्तरिक्षमा हतियारका दौडमा सामेल हुने कुनै इरादा नरहेको’ बताएको छ । 

  • प्रकाशित मिति : चैत १४, २०७५ बिहीबार १५:११:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया