[प्रदेश २] सामाजिक विषयको प्रश्नपत्र ‘आउट’ : घण्टाघर तनावग्रस्त

वीरगञ्ज– आज हुने एसइई परीक्षामा प्रदेश नं २ को सामाजिक विषयको प्रश्नपत्र फेसबुकबाट ‘आउट’ भएको पुष्टि भएपछि परीक्षा स्थगित गरिएकाे छ । परीक्षा स्थगित गरेकाे विराेधमा विद्यार्थीले नाराबाजी गर्दै ताेडफाेड गरेपछि वीरगञ्जको घण्टाघर क्षेत्र तनावग्रस्त भएको छ । 

प्रश्नपत्र सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड बैठक डाकेको थियो । बोर्डले बिहान साढे ७ बजे प्रदेश नं २ को सामाजिक विषयको प्रश्नपत्र खोलेर हेरेपछि प्रश्नपत्र बाहिरिएकाे पुष्टि गरेकाे थियाे ।

आज शुक्रबार हुने भनिएको सामाजिक विषयको परीक्षा स्थगित गरिएको विरोधमा विद्यार्थीले जिल्ला प्रशासन कार्यालय पर्सामा विरोध जुलुस प्रदर्शन गर्दै नाराबाजी गरेका छन् । विद्यार्थीको सो जुलुसले घण्टाघरमा पुगी टायर बालेर विरोध जनाएको छ । 

विद्यार्थीले घण्टाघरमा रहेको प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ लेखेको नारासहितको साइनबोर्ड तोडफोड गरेका छन् । त्यसैगरी विद्यार्थीले आठ लाखको लागतमा निर्माण भएको सोलारसहितको ट्राफिक बिट र ट्राफिक व्यवस्थापनका लागि घण्टाघरमा राखिएको ट्राफिक सङ्केत भएको बोर्ड तोडफोड गरेका छन् र वीरगञ्ज बजार बन्द गराउँदै हिडेका छन् । 

कार्यालयका उप नियन्त्रक चेतनाथ शर्माले प्रश्नपत्र आउट भएको पुष्टिपछि प्रदेश नं २ को शुक्रबारको परीक्षा रद्द गरिएको जानकारी दिए । उनले भने, ‘सामाजिक सञ्जालमा रातिदेखि नै प्रश्नपत्र आउट भएको पोष्ट भाइरल भएका कारण आजको सामाजिक विषयको परीक्षा रद्द गरेका छौँ ।’

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आज हुने भनिएको सामाजिक विषयको प्रश्नपत्र फेसबुकमा आउट भएपछि प्रदेश नं २ को ८ जिल्लामा सो विषयको परीक्षा रद्द गरिएको बताएका छन् । 

घण्टाघरचोकमा विद्यार्थीले प्रदर्शन र सडक अवरुद्ध पारेपछि प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको छ । प्रदेश नं २ मा सामाजिक विषयको परीक्षा रद्द भएपछि प्रदेश नं २ का ८ जिल्लाका ७२ हजार ४९ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।

बिहीबार पनि सप्तरीमा विज्ञान विषयको प्रश्नपत्र आउट भएपछि प्रदेश नं २ मा सो विषयको परीक्षा रद्द गरिएको थियो । 

यसैबीच राष्ट्रिय परीक्षा बोर्डले प्रदेश नं २ अन्तर्गत आज सञ्चालन हुने एसइई परीक्षाको अनिवार्य सामाजिक विषयको नियमिततर्फको परीक्षा रद्द गरेको छ । बोर्डले अनिवार्य समाजिक विषयको नियमिततर्फको परीक्षाको प्रश्नपत्र हिजो बिहीबार नै बाहिरिएपछि आजको परीक्षा रद्द गर्ने निर्णय गरेको हो । 

एक्जाम्टेडतर्फको समाजिक, प्राविधिक विषय र ग्रेड वृद्धिको विषयको परीक्षा भने यथावत सञ्चालन हुने उनले बताए । 

परीक्षा शुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न गठन भएको छानबिन समितिले काम नथाल्दै पुनः सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो । 






  • प्रकाशित मिति : चैत १५, २०७५ शुक्रबार १०:९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया