राजपासँग एकता गर्नकै लागि फोरमले सरकार नछाड्ने

काठमाडौँ– संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकताको विषय अहिले चर्चामा छ । तर, यी दुई दलबीच तत्काल एकता हुने सम्भावना टरेको छ । 

राजपाले एकताका लागि फोरमलाई राखेका सर्तका कारण यो एकता प्रक्रिया अहिलेका लागि टरेको हो । राजपा फोरमले सरकार छोडे मात्र एकता गर्ने अडानमा छ । तर, फोरमले अहिले सरकार नछोड्ने निर्णय गरेको छ । 

‘सरकार छोडेर नै पार्टी एकता गर्नु पर्छ भन्ने पनि होइन, एकताका लागि फोरमले अहिले सरकार पनि छोड्दैन,’ फोरम अध्यक्ष उपेन्द्र यादवनिकट एक नेताले भने, ‘राजपाले एकताका लागि राखेका सर्तमा लचिलो हुने छाँटकाँट नदेखाएकाले अहिलेलाई एकता प्रक्रिया हल्ट भएको छ ।’

स्वास्थ्यमन्त्री समेत रहेका उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरासियाले पनि यसको पुष्टि गरे । ‘पछिल्लो समय दुई पार्टीबीच एकताको विषय सेलाएको छ,’ उनले भने, ‘अहिले यो किन पनि रोकिएको हो भने सरकार नै छाडेर पार्टी एकता गर्ने होइन भन्नेमा फोरमका नेताहरुबीच सल्लाह भएको छ ।’

त्यसो त पार्टी एकताका विषयमा वार्ता गर्न दुवै पार्टीले वार्ता टोली गठन गरेका छन् । तर, पनि एकताबारे दुवै पार्टीबीच उच्चस्तरीय वार्ता हुन सकेको छैन । ‘शीर्ष नेताहरुबीच यसबारे अहिलेसम्म कुनै छलफल नै भएको छैन,’ चौरासियाले भने, ‘दुवैतिर वार्ता समिति छ, तर दोस्रो र तेस्रो तहका नेताहरुबीच मात्रै एकताको कुराकानी भएको छ, शीर्ष नेताहरुबीच केही हुन सकेको छैन ।’

अर्कोतिर फोरमले सरकार नछोडे एकता नहुनेमा राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो अडिग छन् । फरक धारसँग कुराकानी गर्दै उनले भने, ‘फोरम सरकारमा हुँदाहुँदै हामी एकता गर्न सक्दैनौँ, एकता हुँदैन ।’



‘पार्टी सरकारमा छ या छैन भन्ने कुराले कुनै फरक पार्दैन,’ चौरासियाले भने, ‘एकता त विचार र सिद्धान्त मिलेपछि पो हुन्छ ।’ फोरमका शीर्ष नेताबीच पनि एकताबारे यही कुराकानी भएको चौरासियाको दाबी छ । 

एकताबारे सामान्य कुराकानी भइरहेको तर बाहिर हल्लाहरु अलिक बढी नै भएको निष्कर्ष निकालेका छन्, दुवै पार्टीका नेताहरुले । 



नेतृत्व, पदाधिकारी चयन र विधान पार्टी एकताका आधार भएको हुँदा यी विषयमा सहमति नभई पार्टी एकता हुन नसक्ने निष्कर्षमा उपेन्द्र यादवलगायत नेताहरु पुगेको चौरासियले बताए । उनले यादवलाई उद्धृत गर्दै भने, ‘नेतृत्वदेखि पदाधिकारी चयनको कुराहरू हुन्छन् । उहाँहरू (राजपा)को र हाम्रो (फोरम) विधान फरक छ । पार्टी एकीकरण गर्नलाई विधान मिल्छ कि मिल्दैन ? यो विषयमा छलफल आवश्यक छ ।’

छुट्टै मधेशको माग राखी राजनीति गरिरहेका सिके राउतले यो माग छोडेर मूलधारको राजनीतिमा आएपछि राजपा र फोरमबीच एकताको चर्चा चल्न थालेको हो । अर्कोतिर, राजपाले टिकापुर काण्डमा सांसद् रेशम चौधरीलाई अदालतले जन्मकैद सुनाएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एकताका लागि फोरमले पनि सरकार छाड्नु पर्ने सर्त राखेको थियो ।

  • प्रकाशित मिति : चैत १५, २०७५ शुक्रबार ११:४०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया