राष्ट्रिय सभा चुनावको मतपरिणाम सार्वजनिक भएको छ । १९ जना सदस्य चयनका लागि भएको चुनावमा सत्ता गठबन्धनका १८ र नेकपा एमालेका एक उम्मेदवार विजयी भएका छन् ।
कोशी प्रदेशमा सत्तागठबन्धनबाट फ्लोर क्रस हुँदा एमालेको उम्मेदवार विजयी भएका हुन् । कोशीमा सत्ता गठबन्धनबाट माओवादीकी चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला विजयी भएकी हुन् । कोइरालाले कार्कीलाई करिब १०० मतभारले पराजित गर्दै राष्ट्रिय सभा निर्वाचनमा एमालेको ‘साख’ जोगाउन सफल भएकी हुन् ।
एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाइन् भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार पाइन् ।

कोशीमै गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका कृष्ण सिटौला भने विजयी भए । उनले राप्रपाका उद्धव पौडेललाई ७ सय ३० धेरै मतभारले पराजित गरे । सिटौलाले कूल ५२९२ र पौडेलले ४५६२ मतभार पाए ।
कोशीमा सत्ता गठबन्धनकै मतदाताले एमाले र राप्रपालाई मत दिएको पुष्टि भएको छ । गठबन्धनकै उम्मेदवारले भोट नदिँदा माओवादीकी चम्पा कार्की एमालेकी उम्मेदवार कोइरालासँग पराजित भएकी हुन् ।
यस्तै, मधेस प्रदेशको दुई सिटमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भए । कांग्रेस उम्मेदवार ढुंगानाले ७ हजार ३ सय ७० मतभार पाए भने जसपाकी चौधरीले ७ हजार ९ सय २९ मतभार ल्याएर निर्वाचित भएका छन् । एमालेका तर्फबाट उषादेवी थरुनी र विजेता झा उम्मेदवार थिइन् । जनमत पार्टीले भने अन्यमा रामाशंकर महासेठलाई उम्मेदवार बनाएको थियो ।

बाग्मतीमा सत्ता गठबन्धनकै चारजना उम्मेदवार विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी, अन्यतर्फ कांग्रेसकै जितजंग बस्नेत, अपांगतातर्फ माओवादीका कृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भए ।
अपांगतातर्फ विजयी नेकपा माओवादीका अधिकारीले ६ हजार ३८३ मतभार पाए । अन्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार जितजंग बस्नेत ६ हजार ५२१ मतभारसहित विजयी भए ।

महिलाबाट विजयी नेपाली कांग्रेसकी उम्मेदवार विष्णुकुमारी पुडासैनीका पक्षमा ६ हजार ६२६ मतभार पर्यो। प्रदेशतर्फ ६४ मत र स्थानीयतर्फ १७० मत गरी ६ हजारभन्दा बढी मतभारका साथ उनी विजयी भएकी हुन्।
दलिततर्फ सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल ६ हजार ५१२ मतभारका साथ विजयी भए । प्रदेशतर्फ ६३ मत र स्थानीय तर्फ १६७ मत गरी कुल ६ हजार ५१२ मतभारका साथ रिजाल विजयी भए ।
यस्तै, गण्डकी प्रदेशमा पनि गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । अन्य क्लस्टरमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, महिला क्लस्टरमा नेकपा माओवादीबाट मनरुपा शर्मा र अपांगता क्लस्टरमा नेपाली कांग्रेसका पदम परियार निर्वाचित भएका हुन् ।
श्रेष्ठले ३ हजार ८ सय ८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मत पाए । त्यस्तै, कांग्रेसका परियारले ३ हजार ७ सय ७९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका हेमन्द्र शेरचनले २ हजार ४ सय ५८ मत ल्याए ।

त्यसैगरी, माओवादी केन्द्रकी शर्मा ३ हजार ६ सय ६० मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मत पाइन् । गण्डकीमा राष्ट्रिय सभाको रिक्त ३ क्लस्टरका लागि गठबन्धनका ३, एमालेका ३ र राप्रपाका २ सहित ८ जना उम्मेदवार चुनावी मैदानमा थिए ।
लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादीका झक्कुप्रसाद सुवेदी विजयी भए । सापकोटाले ५४३५ मत भार प्राप्त गरी विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी हुन् । सुवेदी पाँच हजार ४३५ मतभार प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका झपेन्द्रबहादुर जीसीले ३०३९ मत भार प्राप्त गरे भने जनमत पार्टीका बालगोविन्द चौधरीले २५० मत प्राप्त गरे ।

यस्तै कर्णालीमा पनि गठबन्धनका तीनैजना उम्मेदवार विजयी भए । कर्णालीमा अन्यतर्फ कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल र दलिततर्फ माओवादी केन्द्रका विष्णुबहादुर विक निर्वाचित भएका छन् । रोकायाले ३ हजार ८७०, मल्लले ३ हजार ७२२ र विश्वकर्माले ३ हजार ८१७ मतभार ल्याएका छन्।
यस्तै, नेकपा एमालेबाट उम्मेदवार बनेका प्रतिद्वन्द्वीहरू अन्य क्लस्टरतर्फका डिल्लीप्रसाद भट्टले १ हजार २१४, महिलातर्फ विमला शाहीले १ हजार ३६२ र दलिततर्फ हिक्मतबहादुर विकले १ हजार २६७ मतभार ल्याएका छन्।

सुदूरपश्चिममा पनि गठबन्धनकै तीनजना उम्मेदवार विजयी भए । महिलातर्फ माओवादीकी रेनु चन्द, अपांगतातर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए ।
मल्लले तीन हजार ७२२ मतभार प्राप्त गरिन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी विमला शाहीले एक हजार ३६२ मतभार प्राप्त गरिन्। त्यस्तै, दलिततर्फ विकले तीन हजार ८१७ मतभार प्राप्त गरे भने प्रतिस्पर्धी एमालेका हिक्मतबहादुर विकले एक हजार २६७ मतभार प्राप्त गरे।

यसैगरी, अन्यतर्फ रोकायले तीन हजार ८७० मतभार प्राप्त गरे। उनका प्रतिस्पर्धी एमालेका डिल्लीप्रसाद भट्टले एक हजार २१४ मतभार प्राप्त गरे।
आगामी फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने भएपछि आज चुनाव भएको हो । आज निर्वाचित सदस्यहरूको कार्यकाल ६ वर्षको रहनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।