logo-img

नेतामा लोभको घैँटो रहुञ्जेल जनताले सुख पाउँदैनन् : कानुनमन्त्री

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले समुन्नत समाज निर्माण आफ्नो प्रमुख गन्तव्य भएको बताएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आज  नगरपालिकाको वडा नं १० अर्खौलेमा आयोजना गरेको अन्तरमाध्यमिक विद्यालयस्तरीय चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उद्घाटनमा सम्बोधन गर्दै मन्त्री गुरुङले नेताहरू लोभबाट मुक्त हुन आवश्यक रहेको बताए । 

उनले नेताहरूमा लोभको घैँटो रहुञ्जेल जनताले सुख नपाउने बताए । ‘नेताहरूमा एउटै यात्रा सदाचारको हुन आवश्यक छ । नेताहरूमा लोभको घैँटो रहुञ्जेल जनताले सुख पाउँदैनन्,’ उनले भने, ‘नेताहरू लोभबाट मुक्त हुन आवश्यक छ । लोभबाट मुक्त भएर अगाडि बढ्न सके मात्र समुन्नत समाज निर्माण गर्न सफल हुन्छौँ । यो अभियान आफैँबाट सुरु गर्नुपर्छ ।’

मन्त्री गुरुङले आजका विद्यार्थीहरु मुलुकको भविष्य भएको भन्दै उनीहरुको भविष्य निर्माणमा सबैको उत्तिकै भूमिका हुने बताए । उनले प्रतियोगितामा सहभागी विद्यार्थीलाई आफू सफल हुनुको उदाहरणसमेत प्रस्तुत गरेका छन् । ‘हाम्रो पालमा बिहान–बेलुका गाईवस्तुलाई घाँस नकाटी विद्यालय जान पाइन्नथ्यो । म पनि स्याङ्जाको एउटा ग्रामीण विद्यालयमा पढेको व्यक्ति हुँ । तपाईंहरूको भन्दा कठिन थियो मेरो दिनचर्या ! राति मात्र गृहकार्य गर्न पाउँथे,’ उनले भने, ‘कठिन परिस्थितिमा कोही पनि बिचलित हुनुहुँदैन । लगनशील भएर अगाडि बढिरहनुपर्छ । लगनशील भएको खण्डमा कोही पनि असफल भइन्नँ ।’

नगरप्रमुख विमला राईले संघ तथा प्रदेश सरकारबाट विनियोजन भएर स्थानीय तहमा आउने योजना कार्यान्वयनमा केही कानुनी जटिलता भएकाले त्यसलाई संशोधन गर्न मन्त्री गुरुङलाई अनुरोध गरे । 

नगरप्रमुख राईले नगरपालिकाको समग्र विकासका लागि पहल गरिदिनसमेत मन्त्री गुरुङलाई अनुरोध गरेका छन् । आफूहरूले जनताकै पक्षमा काम गर्दागर्दै केही व्यक्तिको निहित स्वार्थका कारण कानुनी झमेला व्यहोर्नुपरेको जानकारी दिँदै नगरप्रमुख राईले आगामी दिनमा त्यस्तो झमेलाबाट मुक्त हुनेगरी कानुन संशोधन गर्न मन्त्री गुरुङसमक्ष माग राखे । 

मन्त्री गुरुङलाई अर्खौलेस्थित सालपा खेलमैदानमा आयोजित कार्यक्रमस्थलमा विभिन्न जातजातिको सांस्कृति झाँकीद्वारा स्वागत गरिएको थियो । रनिङ सिल्ड प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा तीनवटा विधाका ३० वटा इभेन्टमा १४ वटा माध्यमिक विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा हुने नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजूले जानकारी दिए । 





  • प्रकाशित मिति : माघ १३, २०८० शनिबार २१:३८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया