विद्यार्थीको प्रदर्शनले प्रदेश २ तनावग्रस्त : मन्त्रीको पुत्ला दहन, राज्यमन्त्रीको गाडी तोडफोड

जनकपुरधाम– लगातार प्रश्नपत्र आउट भएसँगै चौँथो दिनदेखिका सबै परीक्षा स्थगित भएपछि प्रदेश २ का विद्यार्थी आन्दोलनमा उत्रेका छन् ।

पहिला तीन दिन सामान्य रुपमै सञ्चालन भएको एसइईको चौँथो दिन परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएको पाइएपछि सम्पन्न भइसकेको प्रदेशभरिको विज्ञान विषयको परीक्षा रद्द गरियो । पाँचौँ दिनको सामाजिक विषयको प्रश्नपत्र अघिल्लो रात नै सामाजिक सञ्जालमा भाइरल भएपछि परीक्षा सुरु हुनुभन्दा एक घन्टाअघि बसेको प्रदेश शिक्षा समितिको बैठकले परीक्षा स्थगन गर्यो । आजको स्वास्थ्य, जनसंख्या तथा वातावरणको प्रश्नपत्र पनि हिजोदेखि नै बजारका स्टेसनरीमा छ्यापछ्याप्ती भेटिएपछि प्रदेशभर बाँकी सबै परीक्षा राेकिएकाे हाे । 

परीक्षा रोकिएकोमा आक्रोशित परीक्षार्थीले प्रदेशका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले सप्तरीमा बिहानैदेखि प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेका छन् । उनीहरुले बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको खड्ग नगरपालिकास्थित कल्याणपुर र खरचुहियामा चक्काजाम गरेका हुन् । 

कल्याणपुरको चक्काजाम प्रहरीले खुलाएको छ । खरचुहियामा भने चक्काजाम जारी छ । चक्काजामका कारण राजमार्गको सवारी ठप्प हुँदा हजारौँ यात्रु अलपत्र परेका छन् । 

आक्रोशित विद्यार्थीले सप्तरीको सदरमुकाम राजविराजमा केन्द्रीय शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको पुत्ला जलाएका छन् । शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने उनीहरुको माग छ । 

राजविराजबाट पनि विद्यार्थीहरुले सवारी चल्न दिएका छैनन् । ठाउँ–ठाउँमा टायर बालेर सवारीलाई अवरोध गरिरहेका छन् । 



आन्दोलनरत परीक्षार्थीले धनुषामा प्रदेश २ का राज्यमन्त्री चढेको गाडीमा तोडफोड गरेका छन् ।

धनुषाको सपहीमा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा ढुंगामुडा भएको हो । ढुंगामुढाबाट राज्यमन्त्री यादव चढेको गाडीको सिसा फुटेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।



प्रदेश राजधानी जनकपुरधामका विभिन्न चोकमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । चोकहरुमा टायर बालेर प्रदर्शन गर्दै उनीहरुले शिक्षा मन्त्रीविरुद्ध नाराबाजी गरेका छन् ।

यसैबीच, आन्दोलित विद्यार्थी र प्रहरीबीच बाराको जीतपुरमा झडप भएको छ । आन्दोलनमा उत्रेका विद्यार्थीहरुले तोडफोड गर्न खोज्दा झडप भएको प्रहरीले बताएको छ । झडपमा एक प्रहरी जवान र केही विद्यार्थी घाइते भएका छन् । विद्यार्थीहरुले केही सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् । प्रदर्शनका कारण बिहान ७ बजेदेखि नै राजमार्ग अवरुद्ध छ । 

  • प्रकाशित मिति : चैत १६, २०७५ शनिबार १३:७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया