भारतका पद्मराजन जसले लडे १९९ चुनाव र प्रत्येकपटक हारे !

एजेन्सी– विश्वमा मानिसहरुका स्वभाव र चाहना पनि अनौठा हुन्छन् । कोही केही बन्न चाहन्छन् त कोही केही उपलब्धि हासिल गरेर आफ्नो नाम चम्काउन चाहन्छन् । अब निर्वाचनको कुरा गर्ने हो भने सबै उम्मेदवार जित्न नै चाहन्छन् ।

तर, भारतको तमिलनाडुको सलेम भन्ने ठाउँमा रहने पद्मराजनको चाहना चाहिँ फरक छ । चुनावी राजा उपनामले समेत चिनिएका पद्मराजन अब गिनिज बुकमा रेकर्ड राख्न चाहन्छन् । त्यो पनि सबैभन्दा बढी पटक निर्वाचन हारेको उम्मेदवारका रुपमा । किनकि अहिलेसम्म उनले १९९ पटक चुनाव हारिसकेका छन् ।

भारतमा जब कुनै पनि निर्वाचन हुन्छन्, उनी आफ्नो उम्मेदवारी दिइहाल्छन् । आगामि लोकसभा निर्वाचनमा पनि उनले धर्मपुरीबाट उम्मेदवारी दिएका छन् । यो उनले उम्मेदवारी दिएको २०० औं निर्वाचन हो । यसपटक पनि उनले त्यो क्षेत्रमा सबैभन्दा पहिले उम्मेदवारी दर्ता गराएका हुन् । 

उनले आफूले यस्तो गर्नुको उद्देश्य चाहिँ जो पनि जहिले पनि चुनाव लड्न सक्छ भन्ने सन्देश दिनलाई हो । उनी साथीहरुले शक्तिशाली मान्छे मात्र चुनावमा लड्न सक्ने बताएको र आफूले त्यो भ्रम चिर्न निर्वाचन लड्न थालेको बताउँछन् । होमेपेथिक चिकित्सक पद्मराजन अहिले व्यवसायी पनि हुन् ।

पद्मराजनले सन् १९८८ मा पहिलो पटक उम्मेदवारी दिएका थिए । उनले तमिलनाडुमा मात्र होइन, दिल्लीसम्म पुगेर पनि निर्वाचनमा उम्मेदवारी दिएका छन् । उनले ४ प्रधानमन्त्री, ११ मुख्यमन्त्री, १३ केन्द्रीय मन्त्रीविरुद्ध उम्मेदवारी दिएका छन् । तर, प्रत्येक पटक असफल पनि भएका छन् । उनले प्रणब मुखर्जी, एपिजे अब्दुल कलाम, अटल बिहारी वाजपेयी, प्रतिभा पाटिल, मनमोहनसिंहविरुद्ध निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

अब उनी गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा आफ्नो नाम राख्न चाहन्छन् । आफ्नो कुनै राजनीतिक पृष्ठभूमि नभए पनि आफूले देशका सबै ठूला नेताहरुसँग चुनाव लडेको अनुभव आफूसँग भएको उनी बताउँछन् । 





  • प्रकाशित मिति : चैत १६, २०७५ शनिबार १३:१५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया