देवेन्द्र पौडेललाई पाँच प्रश्नः पार्टी एकतामा चित्त बुझेन भन्दै हिँडेका शीर्ष नेताका माग कसरी सम्बोधन होला ?

पत्नी सीता दाहालको उपचार गरेर अमेरिकाबाट फर्किएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफू पार्टी एकताको काम टुङ्ग्याउन लाग्ने विमानस्थलमा नै बताए । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि १० वैशाखभित्र पार्टी एकताको काम सकाएर सप्राइज दिने अभिव्यक्ति दिएका छन् । तर, नेकपाका केही शीर्ष नेताहरु चाहिँ भइरहेको प्रक्रियासँग सहमत छैनन् । कतिले त पार्टी विघटनको पथमा पुगेको अभिव्यक्ति पनि दिइरहेका छन् । यही सन्दर्भमा नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलसँग फरक धारका रमेश दवाडीले छोटो कुराकानी गरेका छन् । त्यही कुराकानीको सम्पादित अंशः 

 

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता प्रक्रिया छिट्टै सकिन्छ भन्नुभएको छ । तर, शीर्ष नेताहरूबीच नै मतभेद रहिरहेको बाहिर आएको छ । यस्तो अवस्थामा के एकता दुई अध्यक्षले भनेजस्तै सहज र छिटो होला ? 

दुई अध्यक्षले अब छिट्टै र जसरी पनि एकता प्रक्रिया टुङ्ग्याउने भन्नु भएको छ । अहिलेसम्म विविध कारणले एकतामा विलम्ब भएको पनि सत्य हो । उहाँहरुबीच हिजो मात्र भेट भएको छ । तर, अहिले देशमा लगानी सम्मेलन चलिरहेको छ । सबै जना यसमा केन्द्रित हुनु पर्ने समय भएकाले पनि उहाँहरु बढी नै व्यस्त हुनुहुन्छ । त्यसैले अब लगानी सम्मेलन सकिएलगत्तैको पहिलो काम भनेको नै पार्टी एकतामा लाग्नु हो । पार्टी एकताको काम सुरु भएपछि त यो प्रक्रिया सकिन धेरै समय लाग्दैन, छिट्टै टुङ्गिन्छ ।

 

एकतामा शीर्ष नेताहरुको तर्क र तरिका मात्र हावी हुँदा भोलि ग्राउन्ड लेभलमा कार्यकर्ता तथा संगठनको राजनीतिक बुझाइ तथा कार्यगत एकतामा समस्या नहोला ? 



त्यस्तो ठूलो प्रभाव नहोला । हो, स्थानीय तहका साथीहरुको सुझाव पनि लिएर अगाडि बढ्नु पर्छ । तर, यस्तै समस्या नआओस् भन्नकै लागि र फरक पृष्ठभूमिबाट दुई पार्टी राजनीतिमा आएकाले नै त दुई अध्यक्षको व्यवस्था भएको हो । सुझाव नै कलेक्ट गरेर गरिएका निर्णयहरुमा सबै साथीहरुले चित्त बुझाउनु हुनेछ । मन नपरेका केही साथीहरुले पनि नेतृत्व पंक्ति र सिङ्गो पार्टी पंक्तिलाई ग्रहण गरेर अगाडि जानु हुनेछ भन्ने नै हो । 

 



तर, अहिले नै पार्टीका केही शीर्ष नेताहरुले त पार्टी विघटनको पथमा अगाडि बढिरहेको अभिव्यक्ति पनि दिन थालिसकेका छन् नि ? 

त्यस्तो अभिव्यक्ति उहाँहरुको निजी विचार हो, आफ्नो विचार उहाँहरुले सार्वजनिक गर्नुभएको हो । पार्टीको जिम्मेवार नेता हुँदा पार्टीलाई सिस्टममा, पद्धतिमा र प्रणालीमा लिएर जाने दायित्व र भूमिका उहाँहरूको पनि हो । उहाँहरूले उठाएका, उठाउन खोजेका र पार्टी एकता मिलेन भन्ने प्रसङ्गहरूलाई अध्यक्षद्वयले वान बाई वान बोलाएर सुझाव लिएर निर्णय लिनुपर्छ । त्यसो गरियो भने समस्या हुन्छ जस्तो मलाई लाग्दैन ।

 

एकातिर कातिर पार्टीका विषयमा असन्तुष्टि छन् भने अर्कोतिर मन्त्रिपरिषद् हेरफेर गर्ने कुरा पनि बारम्बार चल्दै सेलाउँदै गरेका छन् । यस्तो किन भइरहेको छ ? 


अहिले नै त मन्त्रिपरिषद् हेरफेर गर्ने भन्ने प्रसङ्ग छैन । तर, सरकार र पार्टी दुवैलाई प्रभावकारी बनाउन पर्ने भयो भने यो अजेन्डा पनि अगाडि बढ्न सक्छ । केही मन्त्रालयहरु खाली नै भएका कारणले पनि केही हेरफेर हुने सम्भावना त रहने नै भयो । तर, अब यो विषयमा पनि लगानी सम्मेलनपछि नै कुराकानी सुरु हुन्छ होला ।

 

के तपाईंलाई सरकारले जनताको आशाअनुरुप नै काम गरिरहेको छ जस्तो लाग्छ ? 

यो सरकार सापेक्षिक रूपमा ठीक छ । यो वर्ष विकास निर्माणका कामहरूको बजेट विनियोजनको कार्यान्वयनको प्रक्रियामा छ । यो वर्ष बढी संघीयता र कानुनसँग सम्बन्धित कुराहरू कार्यान्वयन गर्नुपर्ने भएको हुँदा जनताका अपेक्षा अनुरूपका काममा कमी आएको कुरा सत्य हो । तर, सरकारले तीन तहका सरकारका संरचना निर्माण गर्ने काम, कर्मचारी समायोजनको काम, ऐन, कानूनहरू बनाउने काम र केही विकास निर्माणका कामहरूलाई पनि गति दिँदै गएको छ । यसलाई निराशाजनक मान्नु हुँदैन । 

  • प्रकाशित मिति : चैत १६, २०७५ शनिबार १४:३५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया