प्रदेश २ मा एसईई चैतभित्रै गर्ने तयारी, परीक्षाफल सबै ठाउँको एकै दिन निकालिने
शनिबार आन्दाेलनमा उत्रिएका विद्यार्थी ।

काठमाडौं– प्रश्नपत्र आउट भएपछि स्थगित भएको प्रदेश २ को एसईई परीक्षा यही चैतभित्र गर्ने गृहकार्य परीक्षा बोर्डले सुरु गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार चैतभित्रै परीक्षा गरिसके पछि परीक्षाफल सातै प्रदेशको एकै पटक निकाल्ने तयारी भएको छ । 

बोर्ड अहिले रुटिन बनाउन लागिरहेको अर्यालले बताएका छन् । ‘आइतबारसम्म परीक्षा तालिका सार्वजनिक गरिसक्छौँ,’ अर्यालले भने, ‘चैतभित्र नै परीक्षा सक्ने योजना राष्ट्रिय परीक्षा बोर्डले बनाएको छ ।’

१० चैतबाट सुरु भएको एसईई परीक्षा देशभर २१ चैतमा सकिँदै थियो । तर, प्रदेश दुईमा लगातार प्रश्नपत्र आउट भएपछि शिक्षा मन्त्रालयले त्यहाँका अन्य परीक्षाहरु तत्कालका लागि स्थगित गर्ने निर्णय गर्यो । 

प्रदेश २ मा विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि तत्कालै उक्त परीक्षा २२ चैतमा लिने घोषणा भयो । तर, त्यसको भोलिपल्ट सामाजिक विषयको प्रश्नपत्र पनि बाहिरियो । त्यसपछि प्रदेश २ का सबै परीक्षा स्थगन गर्ने शिक्षा मन्त्रालयले निर्णय गर्यो । 

अब अन्य प्रदेशमा आइतबार (आज) परीक्षाहरु सकिँदै छन् । त्यसपछि मात्र परीक्षा बोर्डले नयाँ रुटिन तथा नयाँ रणनीति अगाडि ल्याउने योजना बनाएको छ । 

प्रदेश २ मा २ सय ६२ केन्द्रबाट ७० हजार ५ सय ६८ विद्यार्थी एसईई परीक्षामा सहभागी छन् । 



उता, लगातार प्रश्नपत्र आउट भएपछि छानबिन गर्न सिआइबीलाई जिम्मेवारी दिइएको छ । उसले छानबिन सुरु गरिसकेको पनि जनाएको छ । 

अर्कोतिर, प्रश्नपत्र आउट हुने विषयलाई राजनीतिसँग पनि जोडिएको छ । प्रदेश २ सरकारका मन्त्री तथा अन्य नेताले प्रदेश २ लाई बदनाम बनाउन केन्द्र सरकारको षडयन्त्रमा नै प्रश्नपत्र बाहिरिएको पनि हुनसक्ने आशंका राखेका छन् । प्रश्नपत्र आउट भएर परीक्षा स्थगित भएपछि आन्दोलनमा उत्रिएका विद्यार्थी र अभिभावक र प्रहरीबीच शनिबार प्रदेश २ का विभिन्न ठाउँमा झडपसमेत भयो । 



  • प्रकाशित मिति : चैत १७, २०७५ आइतबार १०:८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया