किन बायनाडबाट चुनाव लड्दै छन् राहुल गान्धी ?

नयाँदिल्ली– कांग्रेस अध्यक्ष राहुल गान्धी आउँदो लोकसभा निर्वाचनमा दुई सिटबाट चुनाव लड्ने भएका छन् । आइतबार पार्टीले गरेको पत्रकार सम्मेलनमा केरलबाट लगातार आइरहेको कार्यकर्ताको मागलाई मध्यनजर गर्दै उनले अमेठीसँगै बायनाडबाट पनि चुनाव लड्ने फैसला गरेको बताइयो । 

पत्रकार सम्मेलनमा कांग्रेस वरिष्ठ नेता एन्टोनीले भने, ‘यो ज्यादै खुसीको कुरा हो । पछिल्ला केही सातादेखि माग उठिरहेको थियो कि राहुल दक्षिण भारतबाट पनि चुनाव लडून् । यसैमाथि विचार–विमर्श गरेर राहुलको बायनाडबाट चुनाव लड्ने तय गरिएको हो ।’

यसैबीच, वामपन्थी दल माकपाले भने कांग्रेसको यो निर्णयप्रति सवाल उठाएको छ । राहुललाई बायनाडमा उतार्ने कांग्रेसको फैसला केरलमा उसको वाम दलविरुद्धको प्राथमिकता दर्शाउने, र उसको भाजपाविरुद्ध लड्ने राष्ट्रिय प्रतिबद्धताको पनि खिलाफ हुने माकपाको टिप्पणी छ । बायनाड बिजेपीको प्रभावशून्य, वाम दलको पकडक्षेत्र हो । 

केरलका मुख्यमन्त्री पी विजयनले पनि राहुलले भाजपाको बलियो उम्मेदवार भएको सिटमा चुनाव लड्नुपर्नेमा वामपन्थी दलविरुद्ध उत्रिएकोमा रोष प्रकट गरेका छन् । 

२०१४ को चुनावमा अमेठीबाट भाजपाकी स्मृति इरानीलाई १ लाख ७ हजार भोटले हराउँदै राहुल विजयी भएका थिए । तर, यो अन्तर २००९ को तुलनामा निकै कम हो । २००९ को चुनावमा राहुलले ३ लाख ७० हजार भोटको अन्तरले सोही सिटबाट चुनाव जितेका थिए । 

चुनाव हारे पनि इरानी मन्त्री भइन् । त्यसयता, उनी अमेठीमा लगातार क्रियाशील छिन् । यसपटक पनि भाजपाले अमेठीबाट उनलाई नै टिकट दिएको छ ।



विश्लेषकहरुको बुझाइमा राहुल यसपटक अमेठीमा जित मिल्नेमा ढुक्क छैनन् । त्यसैले पनि उनी ब्याकअपका रुपमा बायनाडबाट चुनाव लड्न लागेका हुन सक्छन् । 
 



  • प्रकाशित मिति : चैत १७, २०७५ आइतबार १२:५८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया