logo-img

संसद्ले पारित गरेको बजेट कटौती गर्न मिल्दैन : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न नमिल्ने बताएका छन् । मन्त्रालयमा आज पत्रकार सम्मेलन गरेर उनले चालू आर्थिक वर्षको बजेट कटौती गरिएको भन्ने समाचारको खण्डन गर्दै संसद्ले पारित गरेको बजेट मन्त्रालयले कटौती गर्न नसक्ने स्पष्ट पारेका हुन् । 

मन्त्री डा. महतले यसले जनतामा द्विविधा उत्पन्न हुने बताउँदै बजेटको अर्धवार्षिक मूल्याङ्कन गरिएको स्पष्ट पारे । बजेटको मध्यावधि मूल्याङ्कन गर्दै मन्त्रालयले चालु वर्षका लागि विनियोजन गरेको बजेटमा सवा दुई खर्ब बजेट कम गरिएको भन्ने समाचार केही दिन अघि सार्वजनिक भएको थियो ।

साथै उनले राजस्व र बजेट कार्यान्वयन प्रगतिको समीक्षा गरिएको बताउँदै अघिल्लो वर्षको तुलनामा १० प्रतिशत राजस्व वृद्धि भएकोसमेत जानकारी गराए । मन्त्री डा. महतले नियमसम्मत बढी राजस्व उठाउने र खर्च गरिने उल्लेख गर्दै उठेको राजस्वको आधारमा आय र व्ययको आकलन मात्रै गरिएको बताए । सरकारले चालू वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

सो अवसरमा उनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब रुपैयाँको बजेट सिलिङ तोकिएको जानकारी गराए । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले सरोकारवाला निकायबीच छलफलपछि सो सिलिङ तोकेको उनको भनाइ थियो । 





  • प्रकाशित मिति : फागुन ४, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया