झापा— प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भिखारी देश नभएको बताएका छन् । झापाको दमकमा नगरपालिकाको नवर्निमित भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
विदेशी लगानीकर्ता भित्र्याएको विषयमा टिप्पणी गर्दै ओलीले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले विदेशी लगानीकर्ताले नेपालमा लगानी गरेर नाफा कमाउन सक्ने तर नेपालले कुनै पनि देश वा व्यक्तिसँग भीख नमाग्ने बताएका हुन् ।
‘कसैले सहयोग नै गर्छु भन्दा चाहिँ हामी भो पर्दैन पनि भन्दैनौँ,’ उनले भने, ‘कुरा नबुझ्नेहरुले टिप्पणी गर्छन्, सरकार त्यसमा अलमलिएर बस्दैन ।’
उनले विदेशी लगानी मात्र नभएर प्रविधिसमेत भित्र्याउँदै डिजिटल तथा आधुनिक नेपालको विकास गर्ने पनि बताए । उनले लखनपुरमा मदन भण्डारीको नाममा नै रंगशाला पनि बनाएरै छाड्ने बताए । ‘ढिलो भइसक्यो, सरकारले जबरजस्ती पनि गर्न सक्थ्यो,’ उनले भने, ‘तर, अब रंगशाला बन्छ, ५—१० अर्बको रंगशाला बन्छ ।’
झापामा नै वाङ्मय संगोष्ठी उद्घाटन गर्दै ओलीले आफूलाई पनि पहिले साहित्यकार हुने मन भएको बताए । ‘यो ज्ञानको उद्गम थलो हो,’ ओलीले भने, ‘आर्यहरुले आएर कोशी किनारमा बसेर बेद रचना गरेका थिए ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।