मौसमविद् भन्छिन्– मल्टिपल कारणले हावाहुरी चल्यो

काठमाडौं– बारामा आइतबार साँझ आएको हावाहुरी विभिन्न कारणले गर्दा भएको मौसमविद्ले बताएका छन् । 

त्रिभुवन विमानस्थलकी मौसमविद् विभूति पोखरेलले चारवटा कारणले गर्दा हावाहुरी चलेको बताइन् । 

‘पश्चिमी वायुको असरले पनि हावाहुरी चलेको हुन सक्छ,’ उनले भनिन्, ‘त्यसमा पनि नेपालको दक्षिणी भाग भारतको सिमानातिर न्युन चापियक्षेत्र पनि बनेको थियो, नेपालको पुर्वी भागमा पनि अचानक न्युन चापिय क्षेत्र बनेको कारण त्यसको असर देखिएको हुनसक्छ ।’

सामान्यतया, उच्च चापिय क्षेत्रबाट न्युन चापिय क्षेत्रमा हावा बहने गर्छ । वायुमण्डलमा हावाको चापमा जति भिन्नता आयो त्यति नै तिव्र गतिमा हावा बहन्छ ।

पोखरेलका अनुसार अहिले प्रि–मनसुनको बेला भएकाले पनि हावाहुरी हुने बताइन् । ‘प्रि–मनसुन सिजनमा सामान्य पानी पर्ने तर जोडले हावाहुरी चल्ने, मेघ गर्जन हुने हुन्छ,’ उनले भनिन् । 

तर, उनले हिजो सामान्यतया देशैभरि हावा चलेको भएपनि बारामा मात्रै ठूलो क्षती हुनुमा त्यहाँको भौतिक संरचना कमजोर भएको कारण पनि हुनसक्ने बताइन् । उनले भनिन्, ‘छुट्टै अध्ययनपछि मात्रै बारामा चलेको हावाहुरी र त्यसले निम्त्याएको क्षतीको कारण के थियो भन्ने थाहा हुन्छ ।’ 



पोखरेलले अझै केहि दिनसम्म पनि हावाहुरी चल्न सक्ने हुनाले सजग रहन आग्रह गरेकी छन् । ‘यो प्रि–मनसुनको सिजन भएकाले बेला–बेलामा हावा चल्ने, केहि दिन रोकिएपनि फेरि यस्तो दोहोरिने सम्भावना हुन्छ,’ उनले भनिन् । 

नेपालको पहाडी भागमा पनि अबको केहि दिन मेघ गर्जनसहित हावा चल्ने सम्भावना रहेको उनले जानकारी दिइन् । 




  • प्रकाशित मिति : चैत १८, २०७५ साेमबार ११:०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया