सामाजिक सञ्जालमा एकैस्वर: उद्धार र राहत कार्यमा सबै जुटौं

काठमाडौँ– आइतबार साँझको हावाहुरीका कारण पर्सा र बारामा ज्यान गुमाउनेहरूप्रति प्रधानमन्त्री तथा विभिन्न दलका शीर्ष नेताहरूले राहत र उद्धारमा खट्न सबैलाई अनुरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर मार्फत् मृतकहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत नेताहरूले गरेका छन् । हावाहुरीका कारण मृत्यु भएका परिवारलाई प्रदेश नम्बर २ सरकारले जनही ३ लाख दिने निर्णय समेत गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दे घाइतेको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । उनको ट्विटरमा लेखिएको छ, ‘घाइतेको उपचारमा सरकारले कुनै कसर बाँकी राख्नेछैन । 

प्रधानमन्त्री ओलीले हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या पनि उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘बारा र पर्सामा आएको त्रासद आँधी हुरीबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । घाइते हुनु भएका ६१२ जना मध्ये ३४३ जना उपचारपछि घर फर्किनु भएको छ । तत्काल राहतका लागि सामग्री सहित नेपाल प्रहरीको थप टोली बिहान पौने ५ बजे पुगेको छ । घाइतेको उपचारमा सरकारले कुनै कसर बाँकी राख्नेछैन ।’ 

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हावाहुरीका कारण भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतक परिवार तथा हावाहुरीबाट घरबार बिहिन परिवारहरूलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सबैलाई आग्रह गरेका छन् ।



प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आइतवार सा‘झ आएको हावाहुरीबाट कम्तिमा २७ जनाको मृत्यु र ५ सय भन्दा बढी घाइते भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दछु । ठूलो मात्रामा धनजनको क्षति हुने गरी भएको सो घटनामा परी निधन हुनुभएकाहरुमा शोक व्यक्त गर्दै शोकाकुल परिवारहरुमा हार्दिक समवेदना प्रकट गर्दछु । मृतक परिवार तथा हावाहुरीबाट घरबार बिहिन परिवारहरुमा उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रह गर्दछु ।’ 

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले मृतकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दे घाइतेहरूको उपचार तदारूकताका साथ गर्न सरकारलाई आग्रह गरेका छन् । उनले आफ्ना कार्यकर्तालाई उद्धार र राहतमा खटिन समेत निर्देशन दिएका छन् । 



उनको ट्विटर ह्यान्डलमा लेखिएको छ, ‘बारा र पर्सा लगायत तराईको विभिन्न क्षेत्रमा आएको भीषण हावा हुरीका कारण ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको उपचार तदारुकताका साथ गर्न सरकारलाई आग्रह गर्दछु । साथै नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई उद्दार र राहतमा खटिन निर्देशन गर्दछु ।’

त्यस्तै, पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयाेजक बाबुराम भट्टराईले ट्विट गरेका छन्, ‘बारा–पर्सामा भीषण हावाहुरीका कारण भएको ठुलो जनधनको क्षतिले स्तब्ध बनाएको छ । तत्काल उद्धा र राहत कार्यमा कुनै कमी नहोस् । दीर्घकालमा यस्ता प्राकृतिक प्रकोप प्रतिरोधी संरचना निर्माण गर्न राज्य र सबैको विशेष ध्यान पुगोस् । मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना ।’ 

अहिले अमेरिकामा रहेका नेपाली कांग्रेसका नेता गगन थापाले बारा र पर्सामा अहिले सबैको सहयोगको खाँचो रहेको बताएका छन् । आँधि आए तराईमा पहाडले छेक्नुपर्छ भन्ने गीतको शब्द राख्दै उनले विपत्तिको सामना गरी सहयोग गर्न सबैलाई अपिल गरेका छन् ।

 

उनले ट्विटरमा लेखेका छन्, ‘गए राती भएको भीषण हावाहुरीका कारण मृत्यु हुने सम्पूर्णमा श्रद्धाञ्जली र घाइते हरुको शीघ्र स्वास्थलाभको कामना । अहिले बारा र पर्सा बासीमा सबैको सहयोगको खाँचो रहेको छ । ‘आँधि आए तराईमा पहाडले छेक्नु पर्छ’ भनेझैं सबैलाई यस विपत्तिको सामना गर्न सहयोग गर्न अपिल गर्दछु ।’ 

पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सुरक्षाकर्मीसँगै सबै राहत र उद्धार कार्यमा खटिन सबैलाई आव्हान गरेका छन् । 

उनले भनेका छन्, ‘विपत्को यस घडिमा उद्धार तथा राहतको काममा नेपाली सेना, नेपाल प्रहरी एवम् नेपाल सरकारका विभिन्न निकायसँगै हातेमालो गरी जुट्न सिङ्गो पार्टी पंक्ति तथा सम्पूर्ण जनसमुदायमा हार्दिक अव्हान गर्दछु ।’ 

साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सरकारले राहत र उद्धारकार्यका कुनै कसुर बाँकी राख्न नहुने बताएका छन् । नागरिकहरूले विगतका विपद्मा झैँ आफ्नो दायित्व पूरा गर्ने उनले बताएका छन् । 

उनले ट्विटरमा लेखेका छन्– हावाहुरीका कारण बारा र पर्सा भएको ठूलो जनधनको क्षतिबाट अत्यन्तै दुःखी छु । सरकारले राहतरउद्धार र दीर्घकालीन सहयोगमा कुनै कसर बाँकी नराखोस् । नागरिकहरूले त विगतका विपदमा झैँ आफ्नो दायित्व पुरा गर्ने नै छन् । मृत्तकहरूप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु ।

 

 

  • प्रकाशित मिति : चैत १८, २०७५ साेमबार ११:१९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया