नेपाली कांग्रेसको महासमिति बैठकअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । सोमबार सभापति शेरबहादुर देउवाले उद्घाटन गरे पनि बैठकमा प्रस्तुत हुने प्रतिवेदनमाथि सहमति नजुट्दा मंगलबार बिहानसम्म बैठकअघि बढेको छैन ।
केन्द्रीय पदाधिकारीले बैठकमा प्रस्तुत गर्नुपर्ने प्रस्ताव नै प्रतिनिधिसमक्ष पुगिसकेको छैन । खासगरी महामन्त्री गगन थापाले प्रस्तुत गर्ने सांगठनिक प्रस्तावमा नै पार्टीका पदाधिकारीबीच मतभेद भएपछि सोमबार रातिसम्म शीर्ष नेताहरूको दौडधूप चल्यो । उद्घाटन सत्रलगत्तै सभापति देउवाको निवासमा करिब पाँच घण्टा निरन्तर छलफलपछि मंगलबार हलमा प्रस्ताव पेस गर्ने भन्ने सहमतिको वातावरण बनेको छ ।
बन्दसत्रमा उपसभापति पूर्ण बहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक र अर्थमन्त्री एवं पार्टीका प्रवक्ता प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्थाबारेको प्रस्ताव पेस गर्नेछन् । त्यसपछि ती प्रस्तावमाथि समूहगतरूपमा छलफल हुनेछ ।
सोमबार उद्घाटन सत्र समापन हुँदासम्म पनि महासमितिमा पेस गर्ने प्रस्तावमा सहमति जुटेको थिएन । त्यसपछि बल्ल शीर्ष नेता छलफलमा जुटेका थिए । महामन्त्री थापाले आफ्नो सांगठनिक प्रस्तावमा ‘०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौँ, र हाम्रा समर्थक/शुभेच्छुकलाई रुख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौँ’ भन्ने उल्लेख गरेपछि त्यही विषयमा सभापति देउवासहित उनीपक्षीय पदाधिकारीले आपत्ति जनाएका थिए ।
प्रस्तावमै त्यो विषय आउन नदिन संस्थापन पक्षले दबाब बढाए पनि अन्ततः महासमिति बैठकमा यो विषय प्रस्तावका रूपमा पेस गर्न सभापति देउवा तयार भएका छन् ।
अहिले नै गठबन्धन नगर्ने भन्ने लेखेर अघि बढ्दा वर्तमान सत्ता गठबन्धनमा खटपट हुन सक्ने भन्दै सभापति देउवा सशंकित मात्रै भएनन्, सोमबार साँझ नै प्रधानमन्त्रीको सरकारी निवास पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटे ।
उपसभापति एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई साथ लिएर बालुवाटार पुगेका देउवाले प्रधानमन्त्री दाहाललाई पार्टीभित्र अप्ठ्यारो परेको भन्दै दस्तावेजमा आउने विषयबाट सशंकित नहुन भन्दै आश्वस्त पारेका थिए ।
महामन्त्री थापाले ल्याएको प्रस्तावमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय, अर्का सहमहामन्त्री भीष्मराज आङ्देम्बे, पूर्वसभापति गोपालमान श्रेष्ठसहित देउवा पक्षकै नेताहरूले पनि सहमति जनाएका थिए । महासमिति बैठक आगामी बिहीबारसम्म चल्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।