प्रधानमन्त्री आफैँ सप्रिन्छु मात्रै भन्छन्, काम नगर्दा सरकार असफल बनिसक्यो : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धन पूर्ण रूपमा असफल भएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले एक वर्षमा केही गर्न नसकेको तथा अब सप्रिन्छु भन्ने निष्कर्ष सुनाएको जिकिर गर्दै ओलीले सरकार सम्पूर्ण रूपमा असफल भएको दाबी गरेका हुन् । 

अध्यक्ष ओलीले भने, ‘यो गठबन्धन नितान्त एमालेका विरुद्ध केन्द्रित छ । हामीले यो कुरा बुझेका छौँ । र यसका विरुद्ध हामी लोकतान्त्रिक तरिकाले शान्तिपूर्ण बाटोबाट लोकतान्त्रिक अभ्यासको बाटोबाट यस कुरालाई पराजित गर्न सक्छौँ । तर अहिले यो गठबन्धन कायम छ । यो गठबन्धन भनिरहनु पर्दैन, पूर्ण रूपमा असफल भयो । मैले त एक वर्षको समीक्षा प्रधानमन्त्रीले गरिरहँदा जम्माजम्मी एउटा निष्कर्ष सुने–केही गर्न सकिएन । अब सप्रिन्छु, अब गर्न कोसिस गर्छु, सप्रिन्छु आदि । केही पनि गर्न सकिन भन्ने निष्कर्ष नै हो । अरू केही छैन । सरकार असफल भएको छ । यस सरकारको असफलताले गर्दा देश गरिबीतिर जाँदो छ । अराजकतातिर जाँदो छ । जनतामा असन्तुष्टि बढ्दो छ । असन्तुष्टिले आक्रोशको रूप लिइराखेको छ ।’

मंगलबारबाट पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले सरकारको एक मात्रै एजेण्डा एमालेको विरोध गर्नु रहेको पनि दोहोर्‍याए । सरकारसँग सुशासनको, भ्रष्टाचार अन्त्यको र आम नेपाली जनताको समस्या समाधान गर्ने कुनै योजना नै नभएको बताए  । अध्यक्ष ओलीले सरकार असफल भएकै कारण जनतामा आक्रोश थपिँदै गएको तर्क समेत गरे । 

उनले भने, ‘अहिले कस्तो गठबन्धन छ–तपाई हामी सबैलाई थाहा छ । गठबन्धन राष्ट्रियताप्रति अत्यन्त कमजोर, सुशासनप्रति कमजोर यस्तो गठबन्धन छ । विकासप्रति चासो नै छैन । चालु भएका आयोजनाहरू बन्द भएका छन् । थप कुनै योजना, आयोजनाहरू छैनन् । यो गठबन्धन, अहिलेको गठबन्धनको उद्देश्य नेकपा (एमाले)को विरोध हो । एमालेलाई अघि बढ्न नदिनु हो । एमालेलाई बदनाम गर्नु हो । एमालेको चरित्र हत्या गर्नु हो । झुटा लाञ्छना लगाएर एमालेलाई कसरी जनताको नजरमा गिराउन सकिन्छ ? त्यो प्रयास गर्नु हो । त्यही काम यस गठबन्धनले गरिराखेको छ । यस गठबन्धनको एजेन्डामा एउटा मात्रै हो–एमालेको विरोध, एमालेका विरोध ।’ 





  • प्रकाशित मिति : फागुन ८, २०८० मंगलबार १४:१६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया