आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजमा नेपालले आज नामिबियासँग खेल्दै छ । नेपाल र नामिबियाबीचको खेल बिहान साढे ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।
जारी सिरिजमा दुवै टिम दोस्रो जितको खोजीमा छन् । नेपाल श्रृंखलाको पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो । उक्त खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४१.१ ओभरमा १ सय ३२ रनमै अलआउट भयो । १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
आफ्नो दोस्रो खेलमा भने नेपालले नेदरल्याण्ड्सविरुद्ध ९ विकेटको सानदार जित निकाल्यो । गत शनिबार भएको खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ३८ रनको लक्ष्य नेपालले १५२ ओभरमा एक विकेटको क्षतिमा भट्टायो ।
नामिबियाले भने पछिल्लो खेलमा नेदरल्याण्ड्ससँग ७ विकेटको हार बेहोर्यो । सो खेलमा टस हारेर ब्याटिङको मौका पाएको नामिबिया ३५.१ ओभरमा १ सय २३ रनमै अलआउट भयो । ऊ अब नेपालविरुद्ध उत्कृष्ट कमब्याक गर्दै दोस्रो जित निकालेर तालिकाको शीर्ष स्थानमा उक्लिन चाहन्छ ।
यता नेपाल नामिबियाविरुद्ध पहिलो खेलको हारको बदला लिँदै पहिलो नम्बरमा कायमै रहने योजनामा छ । जारी सिरिजमा टियू मैदानमा जसले टस जित्यो सोही टिमले खेल जितिरहेको छ, त्यसैले बुधबारको खेलमा पनि टसले प्रभाव पार्ने देखिन्छ ।
हालसम्म नेपाल र नामिबियाबीच पाँच खेलमा भेट भएको छ । जसमा दुवै टिमले दुई/दुई खेल जितेको रेकर्ड छ । नेपाल र नामिबियाबीचको एक खेल भने वर्षाका कारण रद्द भएको छ । बुधबार नेपाललाई नामिबियासँगको रेकर्डमा थप सुधार गर्ने मौका छ । नामिबियाविरुद्ध नेपालले प्लेइङ–११ मा परिवर्तन गर्ने सम्भावना न्यून छ ।
पछिल्लो खेलमा नेदरल्याण्ड्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरेकाले नेपालले नामिबियाविरुद्ध प्लेइङ–११ मा परिवर्तन गर्ने सम्भावना न्यून रहेको हो । नामिबियाविरुद्धको खेलमा प्लेइङ–११ परिवर्तन नगरिएमा करण केसी, आरिफ शेख, पवन सर्राफ र सूर्य तामाङ बेञ्चमा हुनेछन् ।
नेपालको सम्भावित प्लेइङ–११ : आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, रोहितकुमार पौडेल, देव खनाल, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी र ललितनारायण राजवंशी ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।