संघीय संसद्अन्तर्गत प्रतिनिधि र राष्ट्रिय दुवै सभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक ११ बजेर १ मिनेटमा सुरु हुनेछ ।
दुवै सभाका बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रको बेहोरा सभामुख देवराज घिमिरे र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
यसपछि राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायनसम्बन्धी विधेयक, २०८०’ का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने र ‘विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै, बैठकमा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा राखिएको छ । उक्त विधेयक अर्थमन्त्री डा. प्रकाशशरण महतले सभामा छलफलका लागि प्रस्तुत गर्नेछन् ।
राष्ट्रिय सभामा आज विधायन व्यवस्थापन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिका तर्फबाट सभापतिद्वयले दुईवटा अध्ययन प्रतिवेदन पेस गर्दैछन् ।
विधायनकी व्यवस्थापनकी सभापति जयन्ती देवी राईले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापा (पार्वती) ले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८०’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
साथै आजको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत गर्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।