पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । शनिबार बिहान उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गरेका थिए ।
उक्त भेटमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पनि सहभागी थिए । विप्लव हाल समाजवादी मोर्चाका संयोजक पनि हुन् । खनालले विप्लवसँग शनिबार साँझ पुनः आफ्नै निवास डल्लुमा बेग्लै भेटवार्ता गरेका छन् ।
एकातिर राष्ट्रिय सभा अध्यक्षको निर्वाचन, अर्कोतिर उपनिर्वाचनको राजनीतिक सरगर्मी बढिरहेका बेला पूर्वप्रधानमन्त्री खनालको सक्रियतालाई अर्थपूर्ण रूपमा हेरिएको छ । पछिल्लो समय खनाल वामपन्थी एकताको वकालत गर्दै आएका छन् ।
बिहानको भेटवार्ताका क्रममा समसामयिक राजनीति र आपसी हितका विषयमा कुराकानी भएको खनालको सचिवालयले जानकारी गराएको छ ।
शनिबार साँझको भेटवार्ताका क्रममा देशको वर्तमान अवस्था, कम्युनिस्ट एकताको समस्या र सम्भावना र समसामयिक विषयमा कुराकानी भएको खनालको सचिवालयले जनाएको छ ।
संविधानसभा अध्यक्ष तथा पूर्वसभामुखसमेत रहेका नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि रिक्त रहेको इलाम क्षेत्र नं २ आगामी वैशाख १५ मा उपनिर्वाचन हुँदै छ । खनाल उक्त उपनिर्वाचनको उम्मेदवार आकांक्षी पनि हुन् । उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता चैत २४ लाई तोकिएकोे छ।
निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिकाअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकासन र उम्मेदवारलाई चुनाव चिह्न वितरणको कार्यक्रम चैत २७ गतेलाई राखिएको छ। आयोगका अनुसार चैत २२ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुने छ भने फागुन २४ देखि ३० सम्मको म्याद दिई राजनीतिक दल दर्ताको सूचना प्रकाशन गरिनेछ।
चैत २२ गते मुख्य निर्वाचन अधिकृत नियुक्त गरी त्यसै दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै छ। चैत २८ देखि वैशाख १२ प्रचारको अवधि राखिएको छ भने वैशाख १५ बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदान समय तोकिएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।