राष्ट्रपति भवन जोगाउन उल्लु र बाजको टिम

एजेन्सी– रुसमा राष्ट्रपति भवन क्रेमलिन र त्यस क्षेत्र वरपरका मुख्य प्रशासकीय भवनहरुलाई काैवाबाट जोगाउन रुसको रक्षा विभागले बाज र उल्लुको टिम बनाएको छ । चराहरुको यो युनिट १९८४ मा बनाइएको थियो । अहिले यसमा १० भन्दा बढी बाज र उल्लु छन् । यिनीहरुलाई विशेष तालिम पनि दिइएको छ । 

यो टिममा २० वर्षको एक पोथी बाज अल्फा र उसको साथी फाइल्या उल्लु छ । यिनीहरु काैवालाई आकाशमा देखेपछि,आवाज सुनेपछि उडेर धपाउन जान्छन् । 

यी चराहरुको टिमको रेखदेख गर्ने  २८ वर्षीय एलेकस वालासोव भन्छन् ‘कागले यहाँका भवनभित्र गुँड नबनाउन भनेर उनीहरुको नियन्त्रण गरिएको हो । कागबाट विभिन्न किसिमका घातक रोगहरु फैलिन्छन् । यिनीहरुको मलमुत्रले क्रेमलिनको सुनको छानामा पनि क्षती पुग्ने खतरा हुन्छ । यहाँ भएका फूलहरु क्यारियोलाई पनि कौवाले नोक्सान पुर्याउँछन् । यहाँ सुरक्षाकर्मीलाई कौवाले गरेको फोहोर सफा गर्नुभन्दा यिनीहरुलाई यहाँबाट लखेट्नु सजिलो हुन्छ ।’

भवनको रेखदेख गर्ने टिमका सुपरिटेन्डेन्ट पावेल माल्कोव भन्छन् – ‘सोभियत संघको सुरुवाती दिनमा क्रेमलिन र यस क्षेत्रको रक्षाका लागि कौवा मार्ने गार्ड राखिएको थियो । कौवालाई डराउन दिन शिकारी पंक्षिको आवाज रेकर्ड गरेर त्यसको प्रयोग गरिन्थ्यो तर यो त्यति प्रभावकारी भएन ।’ 

माल्कोवका अनुसार यसपछि यहाँ शिकारी चराहरुलाई नै राख्ने निर्णय गरियो । रक्षा विभागअन्तर्गतका यी चराको टिम राष्ट्रपति भवनको रक्षाका लागि स्थायी रुपमा राखिएको छ । 

बाज र उल्लु नै किन ? 



वालासोव भन्छन् –‘हरेक चराको शिकार गर्ने तरिका फरक हुन्छ । गोशाक्स (बाजको एक प्रजाति) निकै तीव्र गतिमा उड्छ । छोटो दुरीका लागि यो धेरै छिटो उड्न सक्छ । यसको नजिक आएका कौवा बच्ने सम्भावना थोरै हुन्छ ।’

यस्तै फाइल्या उल्लुका प्रशिक्षक डेनिस सिडोगिन पनि रातमा शिकार गर्न उल्लु उपयोगी भएकाे बताउँछन् । ‘विल्कुलै शान्त भएर यसले शिकार गर्छ । कौवाका लागि यो एक्लै काफी छ । ठूलाठूला आँखासँगै आफ्नो गर्दनलाई १८० डिग्रीसम्म घुमाउन सक्छ र एकै ठाउँमा बसेर चारैतिर हेर्न सक्छ ।’ 



क्रेमलिनका गार्ड्स भन्छन् ‘विश्वभर सशस्त्रबलमा चराको टिम प्रयोग गरिन्छ । किराफट्यांग्रालाई डराउन, ड्रोनलाई खसाल्न पनि यस्ता चराको प्रयोग हुन्छ । तर क्रेमलिनको सुरक्षामा तैनाथ पंक्षिको प्रयोग ड्रोन खसाल्न गरिएको छैन, यसका लागि अन्य आधुनिक प्रविधिको प्रयोग हुन्छ ।’

  • प्रकाशित मिति : चैत २०, २०७५ बुधबार ९:१५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया