नेकपाको सचिवालय वैठक किन बस्न सकेन ?
फाइल तस्वीर ।

काठमाडौँ –नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय वैठक बस्न ढिलाइ हुँदा पार्टी एकताको बाँकी काम अन्योलनमा परेको छ । अब बस्ने सचिवालय वैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । तर, बैठक कहिले बस्ने भन्ने कुनै टुङ्गो नै छैन । 

फरकधारसँग कुरा गर्दे पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय वैठक तत्काल बस्ने कुनै छाँटकाँट नभएको बताए । उनले भने, ‘सचिवालय वैठक कहिले बस्छ थाहा नै छैन ।’

पार्टीका नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाबाट फर्केपछि सचिवालय वैठक बस्ने बताउँदै आएका थिए । तर, पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड लगानी सम्मेलनको काममा व्यस्त हुँदा सचिवालय वैठक प्रभावित भयो । 

लगानी सम्मेलन पछि बस्ने भनिएको बैठक आइतबार बारा र पर्सा जिल्लामा गएको हावाहुरीका कारण फेरि प्रभावित भयो । अहिले पार्टी र सरकार हावाहुरी घटनाका पीडितहरूलाई राहत र उद्धार कार्यमा व्यस्त रहेको भन्दै बैठक पछाडि धकेलिएको छ । 

अध्यक्ष ओली र ‘प्रचण्ड’ ले पार्टी एकताको बाँकी काम छिट्टै टुंगो लाग्ने बताउँदै आएका छन् । अर्का अध्यक्ष ओलीले वैशाख दश गते सरप्राइज दिने भनेर मिति नै तोकेका छन् । 

अमेरिकाबाट फर्केपछि प्रचण्डले पार्टी एकताको काममा घनिभूत रूपमा लाग्ने बताएका थिए । उनले भनेका थिए, ‘म अमेरीका जान नपरेको भए र हस्पिटलको काम नमिलाएको भए सायद यो दश दिनमा एकताको काम सकिन्थ्यो । अब हामी घनीभूत रुपले यहि काममा लाग्छाँै । र, छिट्टै एकतालाई टुङ्गोेमा पुर्याइन्छ ।’ 



केन्द्रबाट पार्टी एकतामा ढिलाई भए पनि तत्कालिन पार्टी एकता कार्यदलले सचिवालयलाई बुझाएको दुई प्रतिवेदनमाथि छलफल भएको छैन । 

जिल्ला तहहरूमा पार्टी एककताको काम भने धमाधम भइरहेको छ । नेकपाको ३ नम्बर प्रदेश कमिटीलाई प्रधानमन्त्री ओलीले सपथ खुवाइसकेका छन् । पार्टी एकताकै लागि प्रधानमन्त्री ओली काठमाडौँ बाहिरका कार्यक्रममा पुग्न पनि थालेका छन् । ओली जिल्लाको कुनै सार्वजनिक कार्यक्रममा जाँदा पनि पार्टी एकताबारे चासो राख्ने गरेको नेकपाका एक नेताले जानकारी दिए । 



सरकार र पार्टीको नेतृत्व गरिरहेका ओली आफ्नो नेतृत्वमा सरकार र पार्टी दुवैलाई शसक्त रूपमा अगाडि बढाउन चाहन्छन् । पार्टी एकता टुंगोमा पुर्याएर आफ्नो जीवनमा ठूलो कम्युनिस्ट पार्टीको नेतृत्व गर्ने रहर ओलीलाई छ । 

पार्टीका अन्य नेता भीम रावल, झलनाथ खनालले पार्टी एकता नहुँदै फुटको संघारमा रहेको बताए पनि ओलीले पार्टी फुट्ने नभई झन बलियो भएर जाने बताउँदै आएका छन् । 

पार्टी एकताप्रति असन्तुष्टि जनाउँदै आएका नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम भीम रावल लगायतसँग भेटेर अध्यक्ष ओलीले छलफल गरेको स्रोतले बताएको छ ।

  • प्रकाशित मिति : चैत २०, २०७५ बुधबार १३:८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया