राजस्थानकाे ‘विधवा गाउँ’ राणीधरा, जहाँ आठ पुरुषमात्र जिवित छन्

एजेन्सी– सिंचाईको अभाव, अन्य रोजगारको अभावका कारण राजस्थानका धेरै बासिन्दा खनिज उत्खनन गर्ने खानीमा काम गर्न बाध्य छन् । यहाँ काम गर्ने लगभग सबै मजदुरहरु सिलिकाेसिसबाट पीडित छन् । यसका कारण राजस्थानकाे गाउँमा भयावह स्थिति छ ।

त्यहाँ उड्ने धुलोमा भएको सिलिका उनीहरुकाे मृत्युकाे प्रमुख कारण बनेकाे छ । खानीमा काम गर्ने क्रममा त्यहाँकाे सिलिका हावाकाे माध्यमबाट उनीहरुको छातीभित्र जम्मा हुँदै जान्छ । विस्तारै यसले भयंकर रुप लिन्छ, सास फेर्न गाह्रो हुन्छ, रगत बान्ता हुन्छ, छाती दुख्छ, शरीर गल्दै जान्छ र अन्त्यमा ज्यान लिन्छ । 

केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले सञ्चालन गरेको नेशनल हेल्थ पोर्टलका अनुसार सिलिकोसिस निको नहुने रोग हो, यसको उपचार हुन असम्भव छ । यही कारण सिलिकोसिस भएको पहिचान भएपछि विरामीलाई प्रमाणपत्र दिइन्छ, जसलाई उनीहरु ‘डेथ वारेन्ट’ वा ‘डेथ सर्टिफिकेट’ भन्छन् । 

राजस्थानमा यो रोगले महामारीको रुप लिइसकेको छ । सिरोही जिल्लाको राणीधरा गाउँ गरासिया जनजातिको बाहुल्यता छ । यो गाउँमा करिब ५० घर छन् । एक घरमा दुई पुरुष सदस्य (बाबुछोरा) भएपनि यहाँ करिब सय पुरुष र यति नै बराबर महिला हुनुपर्ने थियाे । तर गाउँका बासिन्दा हिम्मत रावलका अनुसार यहाँ जम्मा आठ पुरुष जिवित छन् । यसमा चालिस वर्षभन्दा बढी उमेरका दुई जनामात्र बाँचेका छन् । 

यो गाउँमा नब्बे प्रतिशतभन्दा धेरै महिला विधवा छन्, तीमध्ये धेरैको उमेर २५ देखि ४५ वर्षसम्मको बीचमा छ । यही कारण वरपरको क्षेत्रमा राणीधरालाई ‘विधवाको गाउँ’ पनि भन्छन् । 

योबाहेक राणीधरामा सयभन्दा बढी बच्चाहरु छन्, जसले आफ्ना बुवा गुमाइसकेका छन् । कतिपय परिवारमा कोही पुरुष सदस्य बचेका छैनन् । परिवारको पूरै जिम्मेवारी साना–साना बच्चाको काँधमा छ ।



घरमा पुरुष नभएपछि परिवार पाल्नकै लागि कारखाना र खानी पुगेका धेरै महिलाहरुले पनि आफ्नो जीवन गुमाएका छन् । गाउँमा ठूलो संख्यामा अनाथ बच्चा पनि छन्, जसको रेखदेख वृद्ध हजुरआमाले गरिरहेका छन् । 



७० वर्षीया रंगीबाई तीमध्येकी एक दुखी हजुरआमा हुन्, जसले आफ्ना श्रीमान्, छोरामात्रै होइन बुहारी पनि गुमाइन् । 

उनले आफ्ना दुई छोरा र ठूली बुहारीलाई ढुंगा बोक्ने काममा पठाएकी थिइन् । तीनवर्षको बीचमा दुई छोराको मृत्यु भयो, त्यसको केही समयपछि उनकी बुहारी पनि आफ्ना दुई छोरी र एक छोरालाई अनाथ बनाएर गइन् । उनी भन्छिन् ‘यी बच्चालाई आफ्ना छोराबुहारीको निशानी मानेर जसोतसो पेट भर्ने प्रयास गरिरहेकी छु ।’ तर उनलाई आफू नभएपछि ती बच्चाको रेखदेख कसले गर्छ भन्ने चिन्ता परेको छ । 

यस्तै अवस्था फेणीबाईको पनि छ । ६० वर्षीया फेणीबाई भन्छिन् ‘८ वर्ष अगाडि श्रीमान् यस्तै विरामी भएर बिते । केही वर्षपछि छोरा पनि गयो । जसोतसो बुहारी कारखानामा काम गरेर परिवार पालिरहेकी थिइन्, दुई वर्ष अगाडि उनी पनि हामीलाई छोडेर गइन् ।’

राणीधरामा जति अगाडि बढ्यो, उति पीडा भेटिन्छ । सबैले आफ्ना परिवारका सदस्य गुमाएका छन्, आफ्ना अभिभावक गुमाएका छन्, धेरै बच्चा अनाथ भएका छन्, वृद्धाको साहारा कोही छैन् । अभावसँग जुधिरहेका राजस्थानका यी बासिन्दाहरु कामका लागि कारखाना पुग्छन्, जुन ठाउँ नै उनीहरुका लागि मृत्यु बनेर बसेकाे छ ।  

सिलिकोसिस राणीधरामा मात्रै होइन राजस्थान प्रदेशभर नै ठूलो चुनौतिको रुपमा रहेको छ । अहिलेसम्म रजिष्टार भएका ३३ हजार ७ सय ६५ सिलिकोसिसका विरामीमध्ये १६ हजार ८ सय ६६ को उपचार हुने क्रममा छ । 

कुल विरामीमध्ये ८ हजार ८७ अर्थात २३ प्रतिशतमा सिलिकोसिस भएको पुष्टि भइसकेको छ । तर यसमा ५ प्रतिशत पीडितले मात्र सरकारी सहयोग पाएका थिए । 

सामाजिक कार्यकर्ता शंकरसिंह गोयल सरकारसँग पनि यसबारेमा पूर्ण तथ्यांक नभएको बताउँछन् । चिकित्सकहरुले समयमै यसको पहिचान गर्न नसक्दा पनि धेरैको ज्यान गएको उनको भनाइ छ । 

सरकारले खानी प्रभावित जिल्लामा मजदुरकाे स्वास्थ्यका लागि कराेडाैंकाे फन्ड जम्मा गरेपनि याे केवल राजनीतिक उद्देश्यका लागि खर्च गरिने गरेकाे गाेयल बताउँछन् । 

  • प्रकाशित मिति : चैत २०, २०७५ बुधबार १३:५६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया