प्रधानाध्यापकको घरमा बाबुको पुण्यतिथि, सालका पात टिप्न विद्यार्थी

प्युठान— प्युठानको मल्लरानी गाउँपालिका–५ स्थित भूमि विकास आधारभूत विद्यालयकी प्रधानाध्यापक यशोधा श्रेष्ठले विद्यार्थीलाई आफ्नो घरका लागि सालको पात टिप्न जंगल पठाएकी छिन् । पुण्यकर्ममा दलितले छोएको पात चल्दैन भनेर विभेद गरेपछि उनीमाथि दलित संघर्ष समितिले प्रहरीमा मुद्दा दर्ता गराएको छ । 

गत २८ फागुनमा प्रधानाध्यापक श्रेष्ठका बुबाको १३औँ पुण्यतिथि थियो । त्यसको अघिल्लो दिन २७ फागुनमा श्रेष्ठले विद्यालयमा फोन गरिन् र विद्यार्थीलाई सालको पात टिपेर भोलिपल्ट पुण्यतिथिमा आफ्नो घर पठाइदिनू भनिन् । फोनमा श्रेष्ठले बाहुन, क्षेत्रीका छोराछोरीलाई मात्र पठाउनू, दलित विद्यार्थीलाई नपठाउनू भनेको विद्यार्थीहरूले बताएका छन् । यो समाचार आजको नयाँ पत्रिकामा प्युठानबाट सागर रिजालले लेखेका छन् ।

२८ फागुनमा विद्यालयबाट आधा घन्टाभन्दा टाढा रहेको प्रधानाध्यापकको घरमा गैरदलित विद्यार्थी पात लिएर पुगे । उनीहरूलाई घरमै पितृप्रसाद दिइयो । सोही दिन प्रधानाध्यापक श्रेष्ठले स्कुल पुगेर दलित विद्यार्थीलाई पनि पितृप्रसाद बाँडिन् । त्यसपछि यस घटनाबारे चर्चा सुरु भयो । दलित विद्यार्थीले घर पुगेर प्रधानाध्यापकले आफूहरूलाई भेदभाव गरेको बताए । केही दिन गाउँमै यसबारे छलफल भयो । अन्ततः गत मंगलबार जिल्ला प्रहरी कार्यालय प्युठानमा प्रधानाध्यापक श्रेष्ठले जातीय विभेद गरेको भन्दै जाहेरी दर्ता भएको छ । 

प्रधानाध्यापक श्रेष्ठले विद्यार्थीमाथि जातीय आधारमा भेदभाव नगरेको दाबी गरेकी छन् । भूमि विकास आधारभूत विद्यालय रहेको स्थान सरङकोट दलित बाहुल्य बस्ती हो । विद्यालयमा दुई सयभन्दा बढी दलित विद्यार्थी पढ्छन् । 

प्रधानाध्यापकविरुद्ध प्रहरीमा परेको जाहेरी फिर्ता लिन भन्दै प्युठान क्षेत्र नम्बर २ का प्रदेश सांसद कृष्णध्वज खड्काले पीडित पक्षलाई फोन गरेका छन् । उनले ‘शिक्षिका हाम्रै पार्टीकी हुन्, मुद्दा अगाडि नबढाउनुस्, फिर्ता लिनुस्’ भनेर आफूहरूलाई फोन गरेको स्थानीय गोपीलाल सुनारले बताए । 





  • प्रकाशित मिति : चैत २१, २०७५ बिहीबार ८:३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया