नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चुनाव प्रचारका क्रममा बुधबार अरुणाचलको पासीघाट, पश्चिम बंगालको सिलिगुडी र कोलकाता पुगे । सिलिगुडीमा उनले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीमाथि निसाना साँध्दै उनलाई ‘स्पिड ब्रेकर दिदी’को संज्ञा दिए ।
‘यहाँ बंगालमा स्पिड ब्रेकर छ, जसलाई तपाईंहरु दिदीको नामले चिन्नुहुन्छ,’ प्रधानमन्त्री मोदीले भने, ‘यी दिदी तपाईंको विकासमा स्पिड ब्रेकर हुन् ।’
लगत्तै, दिनहाटामा र्यालीका दौरान मुख्यमन्त्री बेनर्जी प्रत्याक्रमणको शैलीमा मोदीमाथि खनिइन् । ‘उनी एक्पायरी बाबु हुन् । उनको सरकार एक्सपायर भइसक्यो,’ प्रधानमन्त्री मोदीतर्फ कटाक्ष गर्दै उनले भनिन्, ‘तपाईं भन्नुहुन्छ कि हामीले गरिबका लागि केही गरेनौँ, पाँच सालमा तपाईंले चाहिँ के गर्नुभयो ? दिनहुँ झुट नबोल्नुहोस् ।’
सिलिगुडीमा प्रधानमन्त्री मोदीले मुख्यमन्त्री बेनर्जीमाथि थुप्रै आरोप लगाए । प्रदेश सरकारकै संरक्षणमा गुन्डागर्दी मौलाएको भन्दै उनले गुन्डाहरुलाई ‘गुन्डागर्दी नछोडे भाजपा सरकार आएपछि तह लगाउने’ चेतावनी दिए ।
केहीअघि भारतीय सेनाले गरेको पाकिस्तानी आतंककारी समूह जैस–ए–मोहम्मद लक्षित एयर स्ट्राइकबाट कोलकातामा बसेकी ‘दिदी’लाई पीडा भएको उनले आरोप लगाए ।
‘बालाकोटमा बदला लिएर जब हाम्रा जवान फर्किए, तब रुनु कसैलाई थियो, तर रोइरहेको थियो अरु कोही । पीडा इस्लामावाद र रावलपिन्डीमा हुनु थियो, तर पीडा यहाँ कोलकातामा बसेकी दिदीलाई भइरहेको थियो ।’
बालाकोट एयर स्ट्राइकपछि मुख्यमन्त्री बेनर्जीले आक्रमणको औचित्यबारे सबुत दिनुपर्ने बताएकी थिइन् ।
किसानको उन्नतिमा ‘दिदी’ले ब्रेक लगाएको माेदीले टिप्पणी गरे । मुख्यमन्त्री ममता बेनर्जी र उनका भदा अभिषेक बेनर्जीलाई लक्ष गर्दै प्रधानमन्त्री मोदीले फुपू–भदा मिलेर बंगाललाई लुटिरहेको आरोप लगाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।