विश्वका ५३ देशमा भाेकमरी, ११ करोड जनसंख्या अति प्रभावित

एजेन्सी– पछिल्लो वर्ष विश्वभर ५३ देशका ११.३ करोडभन्दा बढी मानिस भोकमरीको चपेटामा परेका छन् । युद्ध तथा प्राकृतिक प्रकोपका कारण यति ठूलो संख्यामा मानिसहरुका लागि खाद्य संकट देखिएको हो ।

खाद्य संकटबाट अफ्रिका सबैभन्दा बढी प्रभावित भएको संयुक्त राष्ट्र संघले बताएको छ । 

खाद्य एवं कृषि संगठन (एफएओ) ले खाद्य संकटसम्बन्धी रिपोर्ट सार्वजनिक गर्दै अहिलकाे अवस्था बारे जानकारी गराएकाे हाे । यमन, कंगो, अफगानिस्तान,सिरियालगायत आठ वटा देशमा दुई तिहाई जनसंख्या भोकमरीमा परेको रिपोर्टमा उल्लेख छ । 

भोकमरीको मुख्य कारण आर्थिक उथल–पुथल, जलवायु परिवर्तनले आएको प्राकृतिक विपद, द्धन्द्ध र असुरक्षा रहेका छन् । तीन वर्ष पहिलादेखि सुरु गरेको वार्षिक अध्ययनले यस्तो भयंकर संकटसँग जुधिरहेका देशको तथ्यांक लिएको थियो । 

एफएओका विपद निर्देशक डोमनिक बुर्जुआका अनुसार यो संकटबाट सबैभन्दा धेरै मारमा अफ्रिका परेको छ । यहाँका ७.२ करोड मानिस खाद्यान्नको अभावमा गुज्रिरहेका छन् । भोकमरीको समस्यामा परेका देशका करिब ८० प्रतिशत मानिस कृषिमा निर्भर छन् । 

यो रिपोर्टमा धेरै संख्यामा शरणार्थीलाई शरण दिने देश, युद्ध प्रभावित सिरियाका छिमेकी देशलाई रेखांकन गरिएको छ । यसमा बंगलादेश पनि समावेश छ, जहाँ लाखौं रोहिंग्याले शरण लिइरहेका छन् ।



एफएओले भेनेजुएलामा राजनीतिक र आर्थिक संकट देखिएको र त्यहाँ पनि विस्थापित मानिसको संख्या बढ्न सक्ने चिन्ता व्यक्त गरेको छ । भेनेजुएला यो वर्ष खाद्य संकटको घोषणा पनि गर्न सक्ने अवस्था छ । 

भोकमरीमा परेका मानिसका लागि तत्काल मानवीय राहतको आवश्यकता रहेको छ र योसँगै कृषि क्षेत्रको सुधारका लागि कदम उठाउन पनि आवश्यक रहेको एफएओको रिपोर्टमा उल्लेख छ । 



  • प्रकाशित मिति : चैत २१, २०७५ बिहीबार १४:१३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया