कञ्चनपुर-३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रमेश लेखक नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीमा छन् । पछिल्लो सत्ता समीकरणका कारण प्रमुख प्रतिपक्षको बेन्चमा सरेको नेपाली कांग्रेसको आगामी रणनीति र समसामयिक राजनीतिका विषयमा नेता लेखकसँग कुराकानी गरिएको छ ।
झन्डै एक वर्ष सत्तामा बसेको नेपाली कांग्रेसले सत्ता परिवर्तन भएसँगै प्रतिपक्षको भूमिकामा पुगेको छ । एउटा भूमिकाबाट अर्को भूमिकामा सरेपछि अब कांग्रेसको भूमिका कस्तो हुने छ ?
संसद्मा एउटा सत्ता पक्षीय र अर्को प्रतिपक्ष गरी दुई वटा मुख्य भूमिका रहने गर्छन् । दुवै भूमिका आफैँमा फरक हुन्छन् । अहिले हामी प्रतिपक्षको भूमिकामा छौँ । हामी सरकारले गरेका कामहरूको मूल्याङ्कन गरेर तदनुरूप आफ्नो भूमिका निर्वाह गर्नेछौँ । यो ज्यादा आलोचनात्मक भूमिका हुन्छ ।
सत्ता गठबन्धन परिवर्तन भएसँगै हिजो बाहिर बसेर खबरदारी गर्नेहरूलाई आज आफैँले खबरदारी गर्न पाइयो भन्ने लाग्दै छ वा असजिलो हुँदै छ बाहिर बस्न ?
हामीलाई बाहिर बस्न खास अप्ठ्यारो त हुँदैन तर तत्काल भूमिका परिवर्तन हुँदा संक्रमणकाल जस्तो हुने रहेछ । जस्तो कि, हामी सरकारमा हुँदा हाम्रै पार्टीका नेताले अर्थमन्त्रीको हैसियतमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू सदनमा प्रस्तुत गर्नुभएको थियो । त्यस विधेयकमाथि छलफल हुनैलाग्दा सरकार परिवर्तन भयो । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरूको जिम्मेवारी अब हामीले बोक्ने कि नबोक्ने, संक्रमणकालजस्तो भएको छ । हिजो त्यो संसद्मा पेस हुँदा तत्कालीन प्रतिपक्षी एमालेले कामै नलाग्ने छ भनेर विधेयकलाई सिधै अस्वीकार गरेको थियो । अहिले त्यो दस्ताबेज न सरकारमा जोडिएको एमालेले बोक्छ न प्रतिपक्षमा रहेको कांग्रेसले ! सरकार परिवर्तन हुँदा यस्ता खाले सङ्क्रमणहरू देखिने रहेछन् ।
एकातिर सरकारमा सहभागी एमालेले सदनमै दस्ताबेज अस्वीकार गरेको थियो । अर्कातिर दस्ताबेज ल्याउने पार्टी नै सरकारमा छैन । उसो भए संसद्मा प्रस्तुत भएको उक्त दस्ताबेजको जिम्मेवारी अब कसले लिने त ?
त्यो संसदको सम्पत्ति हो । त्यसको प्रस्तोता पनि सरकार हो र जिम्मेवारी पनि उसैले लिनुपर्छ । तर, मैले भने नि यस्ता कुराहरूमा अचानक आउने राजनीतिक परिवर्तनले एकखाले संक्रमण जस्तो स्थिति ल्याउने रहेछ ।
पछिल्लो समय सरकारमा रहेको मुख्य सहयात्री कांग्रेसले पत्तै नपाउने गरी अचानक सत्ता पलट कसरी भयो ? तपाईँ तत्कालीन समयमा माओवादीसँग गठबन्धन बनाउने समय पनि नजिकबाट सामेल हुनुभएको नेता हुनुहुन्छ । यो आकस्मिक घटनालाई कसरी हेरिरहनु भएको छ ?
तपाईँले भन्नुभएको उचित हो । मैले यो गठबन्धन बनाउँदाको क्रममा, रहँदाको क्रममा र भत्किँदासम्म नजिकबाट नै काम गरेको हो । यो तत्कालीन गठबन्धन भत्किनुको कारणमा बाहिर भन्दा र देखाउँदा एक खालको कारणहरू देखाए पनि यसको पछाडिको मुख्य कुराहरू बिस्तारै खुल्दै जालान् । यति त प्रस्टै छ कि यो राजनीतिक छलफलकै साथ आएको गठबन्धन हो । राजनीतिक नजरले हेर्दा खास गरी वामपन्थी पार्टीहरू आपसमा मिल्ने मिलाउने, सकेसम्म पार्टी नै एक गर्ने वा नभए पनि मोर्चा बनाएर जाने मान्यताको साथ उहाँहरू अगाडि बढेको देखिन्छ ।
तर, प्रत्येक घटनामा तत्कालीन, दीर्घकालीन र अल्पकालीन कारणहरू हुन्छन् । यो गठबन्धनको दीर्घकालीन स्थिति भनेको पार्टी एक बनाउने, नभए मोर्चा बनाएर बामपन्थीहरुलाई एक ठाउँमा राख्ने देखिन्छ । हाम्रो महासमिति बैठक, मन्त्रीहरूको कार्यशैली र कांग्रेससँग गठबन्धनमा बस्न सहज भएन भनेर उहाँले जुन कारणहरू भनिरहनुभएको छ, यी त निहुँ खोज्नका लागि देखाइएका कारणहरू मात्र हुन् । मुख्य कारण देखाउन नमिलेर स्थापित गर्न खोजिएका सहायक र तत्कालीन साना कारणहरू हुन् । यत्ति कारणले मात्रै त गठबन्धन भत्काइहाल्नु पर्ने नै थिएन । अहिलेको गठबन्धन कुनै राजनीतिक छलफल र सल्लाहका साथ आएको मैले बुझेको छु ।
सत्ता परिवर्तनपछि संसद्मा बोल्ने क्रममा तपाईँले प्रधानमन्त्रीलाई धोका पाएका दलहरू एक ठाउँमा उभिए भने के गर्नुहुन्छ भनेर प्रश्न गर्नुभएका थियो । प्रतिपक्षमा सर्दाको रोष पोख्नुभएको हो ?
रोष पोखेको होइन । मैले तथ्यलाई गम्भीर भएर विश्लेषण गरेरै भनेको हो । जस्तो, एमालेले आफ्नो आधिकारिक दस्ताबेजमा माओवादीबाट पटक पटक धोका खाएका छौँ भनेर उल्लेख गरेको छ । हामीले पनि कांग्रेसलाई विश्वासघात भयो । यो राजनीतिक वेइमानी हो भनेर आधिकारिक धारणा राखेका हौँ । माओवादी सरकार बनाउनका लागि मुख्य पार्टी बनेको अवस्था छ । चाहे कांग्रेस होस् या एमाले दुवैका लागि सरकार बनाउन माओवादीलाई नै सामेल गर्नुपर्ने हुन्छ ।
अब दुवै ठूला पार्टीले माओवादीबाट धोका खाएको निष्कर्षमा पुगिसकेपछिको अवस्था स्पष्ट भएपछि न मैले बोलेको हो । रोष पोखेको होइन नि । पछिल्लो समय माओवादीको प्रवृत्ति अस्थिर देखिन्छ । त्यसले नेतृत्वप्रति नै अविश्वसनीयता बढेको छ । चौध महिनामा तीन पटक सरकार परिवर्तन भयो नि । मैले हिसाब गरेरै भनेको हो । यही गतिमा हिँड्ने हो भने १२ पटक पनि पुग्छ । अब हामीले चार चार महिनामा सरकार परिवर्तन गर्न थाल्यौँ भने त्यसले जुन राजनीतिक अविश्वास र धोका सिर्जना गर्छ । अहिलेको प्रधानमन्त्री दाहाललाई भविष्यमा आफ्नै अस्थिर प्रवृत्तिले अप्ठ्यारोमा पार्छ ।
आलोचनात्मक रूपमा हेर्ने हो भने तपाईँ आफ्नै पार्टीलाई अहिलेको परिवर्तनप्रति कति जिम्मेवार ठान्नुहुन्छ ?
अहिले सत्ता परिवर्तन राजनीतिक छलफल र सल्लाहबाटै उहाँहरूले गरेको देखिन्छ । त्यसमा कांग्रेसले आफूलाई दोषी मान्नुपर्ने जस्तो लाग्दैन । कांग्रेसबाट पनि केही कमजोरी भएका छन् । तर, प्रधानमन्त्रीले देखाउनु भएको कारणहरू भनेका सहायक मात्र हुन् । कांग्रेसका कारणले उहाँलाई गठबन्धन छुट्टाउनै पर्ने थिएन । निहुँ चाहिन्छ नि छुट्टिन । त्यो निहुँ कांग्रेसका कारण माओवादीले पाएको हो । त्यो मूल कारण भने होइन ।
गठबन्धन फुटाएपछि कांग्रेसकै कारणले फुटेको भन्ने जुन भाष्य निर्माण गर्न खोजियो त्यो कांग्रेसकै कारणले मात्र होइन भनेर हामीले बोल्नुपर्ने अवस्था आएकाले मैले सदनबाट सबै स्पष्ट पारेको हो । गठबन्धन भत्काइसकेपछि मेरा कारणले भनेर जिम्मेवारी लिन त कसैले सक्ने कुरै भएन । अनि भएका साना कारणहरूलाई अतिरञ्जनापूर्ण ढंगले यही कुरा ठूलो हो भन्ने गरी प्रस्तुत गरियो । तर, कांग्रेसकै कारण गठबन्धन भत्काउनुपर्ने अवस्था थिएन । सदनमा मैले यही कुरा स्पष्ट पारेको मात्र हूँ ।
गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन भनेर तपाईँ भन्नुहुन्छ । कोशी प्रदेशको पछिल्लो सत्ता समीकरण र गत संसदीय निर्वाचनमा कांग्रेसले माओवादीलाई भोट नहालेको स्पष्ट छ । महासमितिमा माओवादीको जनयुद्धलाई अपमान हुने गरी प्रस्तुत गर्ने कांग्रेस नै हो । सत्ता मै रहँदा नि एक धारका नेताहरू गठबन्धन चुनावसम्म जाँदैन भनेर बोलिरहन्थे । अनि दोष जति सबै माओवादीको मात्रै हो ? कांग्रेसले आत्म समीक्षा गर्छ आगामी निर्वाचनलाई लिएर ?
हाम्रो मिश्रित निर्वाचन प्रणालीकै कारण एकल बहुमतको सरकार कुनै पनि पार्टीले बनाउन सक्ने अवस्था छैन । गठबन्धन त बनाउनै पर्छ । निर्वाचन अगाडि या पछाडि भन्ने विषय मात्रै हो । यो प्रणाली रहँदासम्म एक अर्काले मिलेरै सरकार बाउनुपर्ने अवस्था आउने गर्छ । कांग्रेस एक्लै आफ्नै बलमा निर्वाचन लडेर मत पाइसके पछिको अवस्था हेरेर जे गर्नुपर्छ गरौँला भन्ने मत कांग्रेसभित्र छ ।
अर्कोतिर तत्कालीन समयमै अवस्था हेरेर परिस्थिति अनुसार रणनीतिक रूपमा कांग्रेस चुनावमा जानुपर्छ भन्ने धार पनि छ । अहिले कांग्रेसले गठबन्धनको परिभाषा गर्दा माओवादीलाई मात्र हेरेर गर्छौ कि गर्दैनौ भनिरहेका छौँ । त्यसो गर्नु नै हुँदैन । भोलि निर्वाचनमा सबै कम्युनिस्टहरू एक भएर लडे भने कांग्रेसले बाँकी रहेका साना लोकतान्त्रिक पार्टीसँग मिलेर गठबन्धन गर्ने कि नगर्ने त ? यो हामी आफैँ भित्रको बहसको विषय हो ।
नयाँ समीकरण बनेपछि कांग्रेसका नेतादेखि सहमहामन्त्रीसम्मले र एमालेका नेताहरूले पनि मिलेर गठबन्धन बनाउनुपर्छ भनेको सुनिन्छ । सम्भव छ अब त्यसो गर्नलाई ?
मैले गठबन्धनमा जोडिएका कुनै पनि पार्टीभित्र पूर्ण सन्तुष्टि देखिराखेको छैन । एमालेका तमाम यस्ता साथीहरू छन् जो संसदभित्र र बाहिर पनि प्रचण्डसँगको मेलमिलापबाट सन्तुष्ट छैनन् । एउटै पार्टी बनाउँदा पनि प्रचण्डसँगको सम्बन्ध तोडेर गएको असफलताको अनुभव हुँदाहुँदै फेरि उनैसँग मिल्ने कुरा बेठिक हो भन्ने एमाले भित्रका धेरैलाई परेको छ । माओवादीकालाई पनि पुरानै सम्बन्ध नभुल्दै हतारमा नयाँ सम्बन्ध प्रचण्डले बनाए भन्ने परेको छ । माधवजी (माधवकुमार नेपाल) को पार्टीको विचार संसदभित्रैबाट सबैले सुनेका छन् । प्रमाण नै त छैन मसँग तर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)भित्र पनि असन्तुष्टिको लहर छ भन्ने सुन्दै छु । जसपाको थाहै छ सबै । प्रचण्डले चार वटा पार्टीलाई लिएर गठबन्धन बनाउनुभयो । यो गठबन्धन भित्रका चारै पार्टीभित्र गठबन्धनलाई लिएर सन्तुष्टि छैन । यो एउटा परिस्थिति हो ।
अर्को, प्रचण्ड जीको पहिलेको र अहिलेको मत भार हेर्दा निकै तल आइसकेको छ । यो गठबन्धनका विरुद्धमा प्रतिपक्ष बलियो भएर अगाडि बढेको छ । यो गठबन्धन धेरै दिन जानेमा कोही विश्वस्त छैनन् । त्यसैले फाइदा चाहिँ कांग्रेसलाई नै भएको छ । पार्टीभित्र अभूतपूर्व एकता देखिएको छ । त्यो बाहेक सरकारमा गएका सबै पार्टीमा विभाजन देखिन्छ । स्वाभाविक रूपमा सम्भावना नयाँ कुराको लागि देखिएको छ । एक त नेपाली राजनीतिमा जे पनि सम्भावना हुन्छन् । अर्कातिर गठबन्धनभित्रका दलमा पनि एकता देखिँदैन । यस्तो बेलामा सम्भावना रहिरहने हुनाले तपाईँले भनेजस्तो आङ्कलन भइरहेका छन् ।
तीव्र रूपमा हुने सरकार परिवर्तनका कारण संसद्को पूर्ण कार्यकालमाथि प्रश्न उठ्छ कि उठ्दैन ?
हामी कुनै पनि हालमा संसद्लाई विघटन गर्नेतर्फ जानै हुँदैन । तर, खतरा भने बढेको छ । संसद् विघटनको विगतका घटनाले सुखद परिणाम ल्याएका छैनन् । सबैले देखेका छौँ । तारन्तार चार पाँच महिनाको अन्तरालमा नयाँ गठबन्धन बन्ने र सरकार परिवर्तन भइरहने अवस्थाले गर्दा संविधानका व्यवस्थाहरू एकपछि अर्को प्रयोग हुँदै गएर विकल्प विनाको निर्वाचन भन्ने ठाउँमा पुग्न सकिने अवस्था आउन सक्छ । त्यहाँसम्म पुग्नै हुन्न । सरकार परिवर्तनले मात्रै अस्थिरता ल्यायो भन्न त हुँदैन । तर परिवर्तनको जुन गति अहिले देखिएको छ यसरी नै गयो भने आम जनतामा संविधान र व्यवस्थाप्रति नै वितृष्णा आउँछ ।
तपाईँले अघि अझै नयाँ गठबन्धनको सम्भावना छ भनिसक्नुभयो । कांग्रेसमा एकता पनि देखिएको छ । कांग्रेसले अब केही समय सत्ताको लोभ नगरेर संसद्को यो कार्यकालसम्म आगामी निर्वाचनको तयारी गर्दै प्रतिपक्षमै रहेर क्रियाशील हुन सक्दैन ?
अहिले मैले के देखिराखेको छु भने गठबन्धन भत्किएपछि हाम्रो पार्टीमा अलि जोस र एकता देखिएको छ । कम्युनिस्ट सबै मिले पनि मिल्छन् हामी एक्लै निर्वाचनमा जान्छौ भन्ने कुरामा अलिकति उत्साहित देखेको छु कांग्रेस । यही उत्साहले कांग्रेसलाई अबका दिनमा सत्ताको लोभ नगरेर प्रतिपक्षमै बसेर सडक र सदनबाट रचनात्मक, सिर्जनात्मक, जिम्मेवार र क्रियाशील भूमिका निर्वाह गरे जाऊँ भन्ने स्थितिमा पुर्याउन सक्छ । कांग्रेस आफ्नै विचारले कालजयी छ । जस्तोसुकै स्थितिमा पनि कांग्रेसले आफ्नै विचारमा उभिएर जस्तोसुकै चुनौतीको पनि सामना गर्न सक्छ । हामीलाई त्यसका लागि पार्टी उत्साह, विश्वास र आत्मबल मात्रै चाहिएको छ ।
अहिलेसम्मको संविधानको कार्यान्वयनको अवस्था हेर्दा यसको भविष्य कस्तो देख्नुहुन्छ ?
निकै महत्त्वपूर्ण विषय सोध्नुभयो । यसलाई दुई हिसाबले हेरौँ । एउटा हामी त्यस्तो देश हौँ जहाँ सात दशकमा दश ओटा संविधान बनाइसकेका छौँ । संविधान धेरै बन्नु भनेको राम्रो मानक होइन, मानिँदैन । त्यो त धेरै व्यवस्थाको असफल प्रयोग गर्यौँ भन्ने हो । त्या त हामी कति धेरै अस्थिरताको दौडबाट जुज्रियौं भन्ने प्रमाण हो । अब हामीलाई यो संविधान असफल बनाउने छुट छैन ।
यसलाई सफल बनाउनै पर्छ । तर, संविधान जड वस्तु होइन चलायमान र क्रियाशील दस्ताबेज हो । यसलाई गीताको रूपमा हेर्न थालियो भने फेल हुनेतिर जान्छ । आजको दिनमा संविधानलाई पुनरावलोकन गरेर यसभित्रका कमीकमजोरी, जटिलता र कार्यान्वयनमा देखिएका समस्याहरूलाई संशोधनमार्फत सुधार गरेर लिएर जानुपर्ने बेला भइसक्यो । संशोधन गर्दा यसका आधारभूत मर्महरू मर्नु हुँदैन । संविधानको पुनरावलोकन गरेर दीर्घजिवी बनाउन यसमा सृजनशील र रचनात्मक परिवर्तन गरौँ ।
संविधानको पुनरावलोकनसहित रचनात्मक संशोधन गरौँ भन्नुभयो । बाहिर हिन्दु राज्यको पक्षमा आवाज उठिराखेका छन् । कांग्रेसभित्रै पनि धर्म निरपेक्षता हुनुहुँदैन भन्ने आवाज उठेको छ । त्यो विषय संशोधनमा पर्छ ?
हामीले अध्ययन गर्दा समग्रतामा गर्न पाइयो । तर, संविधानका धर्म निरपेक्षता लगायतका केही आधारभूत तत्वहरु छन् त्यसलाई अहिले नै खलबल्याउन हुँदैन । नेपाल धेरै धार्मिक, सामाजिक, जातीय सहिष्णुता भएको देश हो । यसलाई हामीले यो र त्यो धर्म भन्ने बहसमा लिएर गयौं भने यसले अहिले हाम्रो सामाजिक सद्भावमा खलल गर्छ । यो विषयलाई सबैले गम्भीरतापूर्वक सोच विचार गर्न जरुरी छ ।
एउटा प्रश्न तपाईँलाई मात्र । पार्टीभित्र प्रमुख सचेतकको जिम्मेवारीमा हुनुहुन्छ । पछिल्लो समय राजनीतिक परिवर्तनमा शीर्ष नेताहरूसँगै बसेर भूमिका निर्वाह गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रका बारेमा सोच्ने विचार गर्ने फुर्सद कत्तिको हुन्छ ?
हामी नितान्त विकासका मुद्दामा चुनाव लड्छौँ । काठमाडौं आइसकेपछि पार्टी, संसद्, सरकार र आफ्ना अन्य जिम्मेवारीहरूमा लाग्दा भूमिका अलिकति परिवर्तन हुन्छ । चुनावको बेला विकासका बारेमा बोलेका सबै कुरा पूरा गर्न सकिँदैन । त्यसैले आलोचना पनि हुन्छ । तथापि मैले आफ्नो निर्वाचन क्षेत्रमा सकेसम्म काम गर्ने कोसिस गरेको छु । धेरै कुरामा सफलता पाएको पनि छु । कतिपय कुरा चाहना भएर पनि पुरा हुँदैन ।
अन्तमा, एउटा नेताले आफ्नो एक दिन कसरी बिताउनु पर्छ ? तपाईँको दिनचर्या कस्तो हुन्छ ?
नेताले सबैभन्दा पहिले त तनावलाई व्यवस्थापन गर्न जरुरी छ । योग ध्यान गरेर मानसिक र शारीरिक रूपमा स्वस्थ हुन जरुरी छ । किनभने नेताको जीवन धेरै अस्तव्यस्त भएको देख्छु । मेरो अनुभवमा जसरी व्यवस्थित दिनचर्या हुनुपर्ने हो त्यस्तो छैन, हुँदैन । मेरो एक दिनमा बिहानको नित्यकर्म, कहिलेकाहीँ योग र व्यायाम, त्यसपछि साथीभाइ, व्यक्तिगत सामूहिक भेटघाट हुन्छ । पार्टीको जिम्मेवारीका काम यस्तै यस्तै हो । व्यवस्थित दिनचर्या हुँदैन । नेताको एकदम कमजोर पक्ष भनेको न जीवन व्यवस्थित छ न अनुशासित नै !
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।