काठमाडौं– दुई सातापछि नेपालको आफ्नै नानो स्याटेलाइट (सूक्ष्म भू–उपग्रह) प्रक्षेपण हुँदै छ । यो अन्तरिक्ष क्षेत्रमा नेपालको पहिलो कदम हो ।
वैशाख ४ गते राति २ बजे अमेरिकाको भर्जिनियाबाट नेपाली झन्डासहितको नानो स्याटेलाइट प्रक्षेपण गरिनेछ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिकहरुले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (ज्याक्सा) को सहयोगमा प्रक्षेपण गर्न लागिएको हो ।
नानो स्याटेलाइट प्रक्षेपणका लागि नेपाल सरकारले नास्टलाई सहायतास्वरुप १ करोड ५० लाख रुपैयाँ दिएको छ ।
नानो स्याटेलाइट गन्तव्यमा पुग्न भने केही साता लाग्नेछ । नास्टका अनुसार, जेठको दोस्रो सातासम्म यसले अर्बिटमा प्रवेश पाउने गरी इन्टरनेसनल स्पेस स्टेसनसँग सहमति भएको छ । नानो स्याटेलाइट लन्चिङ सफलता दर ९० प्रतिशत तथा ‘अर्बिटल स्लट’मा तैनाथ हुने दर शतप्रतिशत छ । सोहीअनुसार स्याटेलाइटको सफल प्रक्षेपण हुनेमा आफूहरू विश्वस्त रहेको नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा. सुरेशकुमार ढुंगोल बताउँछन् ।
१३ सय ग्रामको यो नानो स्याटेलाइट भू–उपग्रहको अर्बिटभन्दा तल पृथ्वीबाट ४०० किलोमिटर माथि लोअर बिटमा रहनेछ । १० सेन्टिमिटरको घन आकारको स्याटेलाइटमा नेपालको झन्डाअंकित स्टिकर लगाइएको छ ।
नानोको आयु बढीमा तीन वर्ष छ । तीन वर्षपछि यो आफैँ जलेर ध्वस्त हुनेछ ।
यसले सामान्य फोटो खिच्न र ग्राउन्ड स्टेसनसँग सञ्चार गर्न सक्छ । ग्राउन्ड स्टेसनबाट स्याटेलाइटमा अपलिंक र डाउनलिंक गरिन्छ ।
नानो स्याटेलाइटको उपयोगका लागि नास्टमा ग्राउन्ड स्टेसन बनाउन भने बाँकी छ । यसका लागि नास्टले आवश्यक उपकरण खरिद गर्न टेन्डर आह्वान गरेको छ । अबको केही दिनमै ग्राउन्ड स्टेसन तयार हुने नास्टले जनाएको छ ।
नेपालको पहिलो स्याटेलाइटको सफल प्रक्षेपण भए नेपाली वैज्ञानिक पनि सक्षम छन् भन्ने सन्देश विश्वमा फैलनेछ ।
जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजीले संयुक्त राष्ट्रसंघको सहकार्यमा ६ वर्षदेखि बर्डस् कार्यक्रमअन्तर्गत आफ्नै भूउपग्रह नहुने मुलुकको क्षमता विकास गर्न सघाइरहेको छ । सोही कार्यक्रमअन्तर्गत नेपाली वैज्ञानिक आवास मास्के र हरिराम श्रेष्ठले जापानमा बसेर नानो स्याटेलाइट बनाएका हुन् ।
श्रेष्ठ र मास्केलाई अन्य आठ इन्जिनियर तथा वैज्ञानिकले स्याटेलाइट निर्माणमा सघाएका थिए । प्रक्षेपणका लागि नास्टले ६ फागुनमा नै जाक्सालाई स्याटेलाइट हस्तान्तरण गरिसकेको छ ।
बर्डस् कार्यक्रममा नेपालसहित १२ देश आबद्ध छन् । नेपालले अन्य सदस्य राष्ट्रसँग पनि सहकार्य गर्नेछ । बर्डस्का अन्य सदस्य मुलुकले उडाएको स्याटेलाइटमा समेत नेपालको पहुँच रहनेछ ।
पहिलोपटक प्रक्षेपण गर्न लागिएको नानो स्याटेलाइट व्यावसायिक प्रयोजनका लागि नभई ज्ञान र क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण मानिएको छ ।
तस्बिरहरु : नास्टकाे वेबसाइटबाट
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।