उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्नका लागि नयाँ सोचका साथ काम गरिरहेको बताएका छन् ।
आइतबार सिरहा र धनुषा जोड्ने कमला नदीको पुल निरीक्षणका क्रममा उनले सरकारले निर्माणाधीन योजना पहिलो चरणमा सम्पन्न गर्ने नयाँ प्रकारको सोचसहित सरकार अघि बढिरहेको बताएका हुन् ।
मन्त्री महासेठले पुल, सडक लगायतका निर्माणाधीन आयोजना पहिलो चरणमा सम्पन्न गरेपछि मात्रै नयाँ योजना अघि सार्ने रणनीतिसहित आफूहरू अघि बढेको बताए ।
उनले आगामी असार मसान्तभित्र कमला नदीको पुल र हुलाकी राजमार्गको काम पूरा गर्न निर्देशन दिए । मन्त्री महासेठले असार मसान्तसम्म काम पूरा नभए सडक विभागले कुनै पनि कदम चाल्ने चेतावनी दिए ।
निरीक्षणका क्रममा हुलाकी राजमार्ग योजना कार्यालय, जनकपुरका योजना प्रमुख कृष्णकुमार महतोले राजपत्रमा प्रकाशित हुन नसक्दा र लगत कट्टा हुन नसक्दा समस्या झेल्नु परिरहेको बताए ।
उनले सडक सीमाना स्पष्ट नहुँदा पनि कतिपय समस्या सिर्जना आइरहेको बताए । हुलाकी सडकअन्तर्गत अहिले १६ वटा स्टे अर्डरसहितका २६ वटा मुद्दाहरुको सामना गरेर काम अघि बढाइरहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।